गृहपृष्ठ नेपालबारे ‘अनर्गल’ प्रचार गर्ने भारतीय मिडियाविरुद्ध कानुनी र कुटनीतिक उपचार खोजिने

नेपालबारे ‘अनर्गल’ प्रचार गर्ने भारतीय मिडियाविरुद्ध कानुनी र कुटनीतिक उपचार खोजिने

yubaraj_khatiwada cabinet

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको विषयमा तुच्छ टिप्पणीसहित अनर्गल प्रचारमा उत्रिएका भारतीय सञ्‍चारमाध्यमविरुद्ध सरकारले कानुनी र कुटनीतिक उपचार खोज्ने भएको छ । केही भारतीय मिडियाले प्रस्तुत गरेका नेपाल र नेपालका प्रधानमन्त्रीसँग सम्बिन्धत सामग्रीप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको सञ्‍चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले बताए ।

असार २३ का मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री खतिवडाले नेपालविरूद्ध अनर्गल प्रचार गर्ने भारतीय सञ्चार माध्यमउपर उचित कदम चाल्ने उल्लेख गरे ।

‘मिडियाहरुमा प्रतिबन्ध लगाउनुभन्दा आफैं अनुशासनमा बस्‍ने भए पनि त्यसो हुन नसके कुटनीतिक संयन्त्र परिचालन गर्नुपर्छ । राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र राष्ट्रहितमा आँच आउने गरी कुनै पनि सामग्री प्रकाशन र प्रशारण नगर्न आग्रह गर्छु,’ उनले भने । मन्त्री खतिवडाले भारतीय च्यानलमा प्रसारित सामग्रीप्रति सरकारले भर्त्सना गर्ने बताए ।

नेपालले लिम्पियाधुरा र कालापानी सहितको भूभाग समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालविरुद्ध काल्पिक सामग्री बनाइरहेका भारतीय सञ्चार माध्यमले पछिल्लोसमय प्रधानमन्त्री केपी शर्मा ओली र चीनसँगको सम्बन्धबारे आपत्तिजनक विषयवस्तु पस्किरहेका छन् ।

टाइम्स अफ इन्डियाले प्रधानमन्त्री ओलीको टाउको जनावरसँग जोडेर आपत्तिजनक स्केच प्रकाशित गरेको छ । गत मंगलबार बिहार झारखण्ड टेलिभिजनले प्रधानमन्त्री ओलीलाई चिनियाँ राजदूतसँग प्रेम जालमा परेको भन्दै भिडियो रिपोर्ट प्रसारण गरेको छ। त्यसप्रति विभिन्न दलका नेता एवं पत्रकार महासंघले पनि आपत्ति जनाएको छ ।

प्रकाशित समय १८:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु