गृहपृष्ठ कास्कीमा पहिरोमा परी ६ जनाको मृत्यु, ११ जना घाइते

कास्कीमा पहिरोमा परी ६ जनाको मृत्यु, ११ जना घाइते

पोखरामा परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा गएको पहिरोमा परी ६ जनाको जनाको मृत्यु भएको छ । पहिरोका कारण ११ जना घाइते भएका छन् । पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टंकबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा ५ जनाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

घटनामा परी घाइते भएका अन्य ५ जनाको उद्धार गरी मणिपाल शिक्षण अस्पताल र १ जनाको पश्चिमाञ्चल अस्पतालमा उपचाररत रहेका छन् । त्यस्तै प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए । दुई जनाले भने भागेर बचेका थिए ।

थापाको घरमा बिहीबार छोरीको जन्मदिन मनाउन कार्यक्रम तय भएको थियो । सो घरमा धेरै जना थिए । त्यसैगरी पोखरा महानगरपालिका–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोले पुरेको छ । उक्त पहिरोमा परी अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोखरा–१८ छोरेपाटन सिमलटुँडामा एक घर मा पहिरो गएको छ । चन्द्रबहादुर मगरको घर माथिबाट झरेको पहिरोमा परी मगरसहित उनकी श्रीमती शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन् । उनीहरुको नमस्ते अस्पताल पोखरामा उपचार भइरहेको छ । त्यसै गरि पोखरा ५ मालेपाटमा दुई जना घाइते भएका छन् । अविरल वर्षासँगै पोखराको रामघाटस्थित सेती नदी र पोखरा ४ फिर्के थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको छ ।

प्रकाशित समय १०:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु