गृहपृष्ठ मुलुकभर २९ विपद्जन्य घटना, १२ को मृत्यु, ३२ बेपत्ता

मुलुकभर २९ विपद्जन्य घटना, १२ को मृत्यु, ३२ बेपत्ता

पानीको बहाव बढेपछि पोखराको सेती नदी । (इन्सेटमा : जाजरकोटमा पहिरोमा बेपत्ताको खोजी गरिँदै) फाइल तस्बिरहरू ।

पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न स्थानमा २९ वटा विपद्जन्य घटना भएको छ । त्यसमध्ये १४ स्थानमा पहिरो गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

बिहीबार सिन्धुपाल्चोकमा आएको बाढी पहिरो तथा गएराति मुलुकका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परेर १२ जनाको मृत्यु भएको र ३२ जना सम्पर्कविहीन रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए । उनका अनुसार बाढी पहिरोमा परेर २२ जना घाइते भएका छन् ।

कास्कीको पोखरा महानगरपालिका- १८ स्थित सराङकोटमा बिहान पहिरोमा परेर चार जनाको मृत्यु भएको तथा नौ जना घाइते भएका छन् । पहिरो झरेर घर पुरिँदा जन्मदिन मनाउन आएका व्यक्ति परेको जनाइएको छ ।

यस्तै कास्कीको छोरेपाटनमा पहिरोमा परी तीन जना घाइते भएका छन् । कास्कीकै हेम्जामा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । पैतेडाँडामा एक घर पहिरोमा पुरिँदा एक व्यक्ति बेपत्ता भएको प्राधिकरणले जनाएको छ ।

लमजुङको बेँसीशहर नगरपालिका- ७ स्थित एक घरमा पहिरो खस्दा तीन जनाको मृत्यु भएको तथा तीन जना घाइते भएका छन् । म्याग्दीको धवलागिरी गाउँपालिका- ६ मा पहिरो आएर दुई घर पुरिंँदा १० जना सम्पर्कविहीन भएको र अन्य दुई घरमा क्षति पुगेको जनाइएको छ ।

बेनी-जोमसोम सडकअन्तर्गत रघुगंगा नदीमाथिको क्षतिग्रस्त पुल ।

धनकुटामा ढुंगा खसेर एक जनाको मृत्यु भएको छ । यस्तै सिन्धुलीमा तीन, मकवानपुर र प्यूठानको चार स्थानमा बाटो अवरुद्ध भएको जनाइको छ । दैलेखको नारायण नगरपालिका- २, कुसाडाँडामा सर्पले टोकेर एक जनाको मृत्यु भएको जनाइएको छ ।

यसैबीच सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोशी गाउँपालिकामा बिहीबार खरेको पहिरोमा दुई जनाको मृत्यु भएको छ भने २१ जना सम्पर्कविहीन रहेको तथा सात घाइते भएको प्राधिकरणले बिहीबार एक सूचना जारी गरी जनाएको छ ।

आज कोशी, नारायणी नदीको बहाव उल्लेख्य बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसका केही सहायक नदीसमेत खतराको आसपास पुग्ने भएकाले सावधानी अपनाउन भनिएको छ । कर्णाली, महाकाली, र यसका सहायक नदीमा भने बहाव सतर्कताभन्दा तल नै रहनेछ । कन्काई, कमला, वाग्मतीलगायत नदीमा बहाव बढ्दो छ ।

त्यसका केही सहायक नदीमा आकस्मिक रुपमा बहाव बढ्नसक्ने पूर्वानुमान गरिएको छ । पश्चिम राप्ती, बबई लगायतमा बहाव बढ्दो रहेको तर आज खतराको तहभन्दा तल नै रहनेछ । प्रदेश नं १, २, गण्डकी प्रदेशका विभिन्न ठूला तथा साना नदीहरुमा आकस्मिक रुपमा पानीको बहावको उच्च हुने सम्भावना रहेको विभागले जनाएको छ ।

अन्य प्रदेश तथा पहाडी क्षेत्र र सम्भावित जोखिम क्षेत्रका समुदायलाई सावधानी अपनाउन र सुरक्षित रहनसमेत प्राधिकरणले अनुरोध गरेको छ ।

लमजुङको एक घरमा आँगनमै पहिरो ।

प्रकाशित समय २०:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु