गृहपृष्ठ नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध
नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध
पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ स्थित पन्ध्रकिलोनजिक बतासेडाँडामा पहिरो खसेको हो ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार चारकिलोको पहिरो पन्छाएर सडक एकतर्फी बनाएको केही घण्टामै पुनः पहिरो खसेको छ । ठूलो चट्टानसहित पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । राति करिब ८:४५ बजे पहिरो खसेको हो । चारकिलोको पहिरो ३६ घण्टामा पन्छाएर दिउँसो ४:३० बजे एकतर्फी खुलाइएको थियो ।
पहिरो खसेसँगै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख बाटैमा अड्किएका थिए । उनीहरु सडक अनुगमन गरेर फर्कने क्रममा पहिरोले रोकिएपछि सवारी साधन उतै छाडेर वैकल्पिक मार्गको प्रयोग गरी फर्किएका छन् । राति ठूलो चट्टानसहित पहिरो खसेका कारण पहिरो पन्छाउन कति समय लाग्छ अहिले भन्न नसकिने अधिकारीले जानकारी दिए । केहीबेरमा पहिरो पन्छाउने काम थालिनेछ ।
प्रकाशित समय ०८:०४ बजे

















