गृहपृष्ठ किशोरीलाई करणी गरेको अभियोगमा एक पक्राउ
किशोरीलाई करणी गरेको अभियोगमा एक पक्राउ
भक्तपुरमा १७ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । किशोरीलाई ‘पत्रिकाको ग्राहक बनिदिन्छु पैसा कोठामा छ’ भन्दै डेरामा पु‑याएर करणी गर्ने रामेछापको खाँडादेवी गाउँपालिका ९ का सुरेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।
मध्यपुर ठिमी नगरपालिका ४ मध्यपुर अस्पतालअगाडि मासु पसल सञ्चालन गर्ने राजेश भण्डारी नाम बताउने व्यक्तिले जेठ २७ गते सूर्यविनायक नगरपालिका ४ स्थित डेरामा लगेर करणी गरेको प्रहरीको आरोप छ । करणीपछि ‘कसैलाई भने मारिदिन्छु’ भनेर धम्की दिएको खुल्न आएको प्रहरीले जनाएको छ ।
किशोरीले त्रासका कारण आफूमाथि करणी भएको कसैलाई नभनेको तर गर्भवती भई २०७६ माघ २६ गते बालकलाई जन्म दिएपश्चात महानगरीय प्रहरी वृत्त ठिमीमा २०७७ असार १४ गते जबर्जस्ती करणी मुद्दामा जाहेरी दरखास्त दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १९:०२ बजे

















