गृहपृष्ठ अकासियो तरकारीको मूल्य
अकासियो तरकारीको मूल्य
उपत्यकामा एक हप्तामै तरकारीको मूल्य अकासिएको छ । तरकारीको मूल्य एक हप्तामै ११३ प्रतिशतसम्म बढेको हो । काठमाडौंका खुद्रा पसलहरुमा कालिमाटी तरकारी तथा फलफूल बजारको भन्दा केही फरक मूल्य देखिएको छ ।
केही दिनयताको लगातारको झरी, बाढी-पहिरोका कारण राजधानीमा तरकारी आपूर्ति कम भएको तथा लकडाउन खुल्नु केही अघिदेखि नै राजधानीमा मानिसहरुको आवागमन बढेकाले तरकारीको मूल्य अकासिएको हो । केही दिनयता तरकारीको आपूर्ति कम भएको बानेश्वरका तरकारी व्यापारी हरिबहादुर थापा बताउँछन् । ‘तरकारी बजारकै मूल्यअनुसार हामीले किन्ने हो, त्यसमा दुई-चार रुपैयाँ फाइदा खानैपर्यो ।’ ठूला व्यवसायीले बाटोमा पहिरो आएकाले तरकारी कम भित्रिएका कारण मूल्य बढेको बताउने गरेको उनले जानकारी दिए ।
अहिले उपत्यकामा ५२ प्रकारका तरकारीको मूल्य छोइनसक्नु भएको छ । २०-२२ प्रकारका तरकारीको मूल्य ५० प्रतिशतभन्दा धेरैले बढेको छ । कालिमाटी तरकारी तथा फलफूल बजार समितिका उपनिर्देशक विनय श्रेष्ठ भने अब बर्खे तरकारीको मूल्य घट्न सक्ने बताउँछन् । ‘केही दिनयताको निरन्तरको झरीका कारण बाढी-पहिरो आएर तरकारी भित्रिन नपाएकाले मूल्य बढेको हो । अब बर्खे तरकारीको मूल्य सस्तो हुँदै जान्छ भन्ने विश्वास छ,’ उनी भन्छन् ।
हप्तामै डेढ गुणा बढ्यो तरकारीको मूल्य
अहिले उपत्यकामा सबैभन्दा बढी हरियो खुर्सानी (अकबरे) को मूल्य बढेको छ । एकै हप्ताअघि प्रतिकिलो ११५ रुपैयाँ रहेको हरियो खुर्सानी अहिले २४५ रुपैयाँ पुगेको छ, यो वृद्धिदर ११३ प्रतिशतभन्दा धेरै हो ।
त्यस्तै लोकल बन्दा पनि १११ प्रतिशतले मूल्यवृद्धि भएको छ । गत हप्ता थोक मूल्य १८ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको बन्दा अहिले ३८ रुपैयाँ पुगेको छ । त्यस्तै, लोकल घ्यु सिमी पनि १०५ प्रतिशतले वृद्धि भएको छ । गत हप्ता ३८ रुपैयाँमा कारोबार भइरहेको सिमीको थोक मूल्य यो हप्ता ७८ रुपैयाँ पुगेको कालिमाटी फलफूल तथा तरकारी बजार समितिले जनाएको छ ।
समितिका अनुसार हाइब्रिड घ्यु सिमीको मूल्य पनि लोकल सिमीको जस्तै एकै हप्तामा १०५ प्रतिशतले बढेको छ । त्यस्तै तने बोडी ९६ प्रतिशतले बढेको छ । गत हप्ता ३३ रुपैयाँमा कारोबार भइरहेको बोडीको थोक मूल्य अहिले ६५ रुपैयाँ प्रतिकिलोमा पुगेको छ । परवर (लोकल) पनि एक हप्तामा ७८ प्रतिशतले बढेको छ । गत हप्ता ५५ रुपैयाँमा कारोबार भइरहेको परवर यो हप्ता ९८ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै झिगुनी पनि एकै हप्तामा ७७ प्रतिशतले वृद्धि भएको कालिमाटी फलफूूल बजार समितिले जनाएको छ ।
काँक्रो हाइब्रिट, लोकल काँक्रो, कागती, हरियो प्याज, भिण्डी, भटमास कोसा, सानो गोलभेँडालगायतका तरकारी पनि एकै हप्तामा ५० प्रतिशतभन्दा धेरैले मूल्य बढेको छ । ६५ प्रकारका तरकारीको कारोबार भइरहेको कालिमाटी बजारमा यो हप्तामा मात्रै करिब ४२ प्रकारका तरकारीको मूल्य बढेको छ ।
मूल्यअनुसार स्थिर तरकारी
सिजनअनुसार भए पनि कुनै कुनै तरकारीको मूल्य भने एक हप्ताको तुलनामा स्थिर देखिएको छ । कालिमाटीबाट मात्रै ६५ प्रकारका तरकारीको कारोबार भइरहेको बजारमा २३ प्रकारका तरकारीको मूल्य यथावत् रहेको कालिमाटी तरकारी बजारका उपनिर्देशक श्रेष्ठ बताउँछन् । ‘कहिलेकाहीँ सिजनल तरकारी पनि धेरै मात्रामा आएको हुन्छ र बिक्री कम हुन्छ, सस्तो हुन्छ । यसपटक सिजनअनुसार पनि बाढी-पहिरोका कारण आयातमा समस्या हुँदा कृषकको बारीबाटै ल्याउन नसकिएका कारण महँगो भएको हो,’ उनले भने ।
उपत्यकाका विभिन्न ठाउँहरुमा थोक मूल्यअनुसार गोलभेँडा (सानो टनेल), तितेकरेला, कुरिलो, च्याउ, पुदिना, स्याउ फुजी, केरा, गुन्द्रुक, तोफु, तामा, इमली, अनार, भुइँ कटहर, रुख कटहर, मेवा, सुकेको खर्सानीको मूल्य बढेको छैन । चाइनिज सुकेको लसुन, नेपाली सुुकेको लसुन, ताजा माछाहरु रहु, बचुवा, छडीको मूल्य यथावत् छ ।
प्रकाशित समय १८:०० बजे

















