गृहपृष्ठ आत्महत्या गर्नेमा पुरूष बढी, लकडाउन अवधिभर २ हजार २१८ जनाले ‘मृत्यु रोजे’
आत्महत्या गर्नेमा पुरूष बढी, लकडाउन अवधिभर २ हजार २१८ जनाले ‘मृत्यु रोजे’
सांकेतिक तस्बिर ।
लकडाउन अवधिभर नेपालमा दुई हजार २१८ जनाले आत्महत्या गरेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार चैत ११ देखि साउन ४ गतेसम्म विभिन्न तवरबाट पुरुष एक हजार १७२, महिला ८११, बालक ९४ र बालिका १४१ जनाले ज्यान फालेका हुन् ।
प्रहरी तथ्यांकअनुसार झुण्डिएर सबैभन्दा धेरै व्यक्तिले आत्महत्या गरेका छन् । झुण्डिएर एक हजार ८२८, विष खाएर ३४६, हाम फालेर १९, डुबेर १२, हातहतियारबाट आठ, आगो लगाएर चार र करेन्ट लगाएर एकजनाले आत्महत्या गरेको प्रहरी तथ्यांकमा उल्लेख छ ।
प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी निरजबहादुर शाही आत्महत्याको मुख्य कारण मानसिक तनाव भएको बताउँछन् । ‘प्रहरीले बढ्दो आत्महत्याको दर रोक्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मानसिक स्वास्थ्य विभाग एवम् मनोपरामर्श दिने विभिन्न संघसंस्थासँग समन्वय गरी आत्महत्या रोकथाम तथा न्यूनीकरणका काम गरिरहेको छ ।’
प्रहरीले आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि स्थानीय तह र सरोकारवाला निकायसँग समन्वय गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । यसका साथै समुदाय-प्रहरी साझेदारी अवधारणाअन्तर्गत आत्महत्या गर्नसक्ने लक्षित वर्गको पहिचान गरी आत्महत्या न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन, नेपाल प्रहरीको सामाजिक सञ्जालमा आत्महत्या न्यूनीकरणका लागि सचेतनामुलक सामग्री सम्प्रेषण गरी आत्महत्याका घटनाको सूक्ष्म अनुसन्धान गरेको छ ।
प्रकाशित समय १५:३८ बजे

















