गृहपृष्ठ किरात संग्रहालयको काम तीव्र

किरात संग्रहालयको काम तीव्र

ऐसेलुखर्क गाउँपालिका- ५, महेश्वरीस्थित रिब्दुङमा निर्माण सुरु गरिएको किरात संग्रहालयको पहिलो तला ढलान गरिएको छ । किरात जातिको लोपोन्मुख अवस्थामा पुगेका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सामग्री, भेषवूषा, गरगहनालगायतका बहुमूल्य सम्पदालाई संकलन गर्दै संरक्षण गर्ने लक्ष्यकासाथ निर्माण सुरु गरिएको संग्रहालयको काम तीव्र गतिमा अघि बढाइएको हो ।

आर्थिक वर्ष २०७६/७७ मा ऐसेलुखर्क गाउँपालिकाले विनियोजन गरेको १५ लाख र सांसद विशाल भट्टराईमार्फत विनियोजन भएको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको १० लाख रूपैयाँमा पहिलो तला ढलान गरिएको निर्माण उपभोक्ता समितिका संयोजक खुक्सङ खम्बुले बताए । ‘तत्कालीन गाविस, वडा तथा गाउँपालिकाको कार्यालयलगायत चन्दादाताबाट संकलन गरिएको रकममध्ये ५० लाखको हाराहारीमा खर्च भइसकेको छ,’ उनले भने, ‘संग्रहालयको भवन निर्माणदेखि सामग्री राख्ने दराज र आल्मारी निर्माण, संग्रहालयमा राख्ने सामानको खरिद तथा नयाँ सामान निर्माण लगायतका कामका लागि देश तथा विदेशबाट सहयोग रकम जुट्ने क्रम जारी रहेको छ ।’

ऐतिहासिक संग्रहालय निर्माणका लागि विभिन्न ठाउँमा रहनुभएका व्यक्तिबाट समेत १७ लाख सहयोग प्राप्त भएको जनाइएको छ । किरात समुदायको ऐतिहासिक थलो मानिने महेश्वरीका स्थानीय बासिन्दाले अनुदान तथा चन्दा उठाएरै २०७४ सालदेखि धिनडाँडास्थित ज्योति प्राविनजिक चुच्चोडाँडामा तीनतले पक्की संग्रहालय निर्माण सुरु गरेका थिए ।

किरात अध्ययन केन्द्रका रूपमा स्थापित गर्दै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने गरी १० किरातको प्रतीकस्वरुप ‘दश भुजा र दश कोण’ भएको संग्रहालय निर्माण गर्न लागिएको निर्माण समितिका संयोजक खम्बुले बताए । हजारौँ वर्ष पुरानो इतिहास र सभ्यता भएको किरातीसँग सम्बन्धित संग्रहालय कम भएका कारण किरात राई यायोक्खा रिब्दुङ महेश्वरीको पहलमा किरात संग्रहालय निर्माण सुरु गरिएको हो ।

भवनको भुइँ तलामा सामूहिक चुलो घर तथा माथिल्लो तलालाई संग्रहालय बनाउने निर्माण समितिको तयारी छ । संग्रहालयमा राई, लिम्बू, सुनुवार, याक्खा लगायतका जातिसँग सम्बन्धित तान, ढिकी, जाँतो, धनुष बाण, गुलेली, ढ्याङ्ग्रो, भाला, हँसिया, चर्खा, डालो, थुन्से, कठुवा, हलो, जुवा, ढाकी, घडी लठ्ठी, ढाकर, घैँला, छपनी, ओख्ली, धिब्री, लोटा, फोसी, रासी, साँचो, भोटे ताल्चा, काठको आरी, भुने, काठको डाडु लगायतका मौलिक गरगहना, कला, सीप, साहित्य झल्काउने बहुमूल्य सामग्रीलाई संकलन गरेर सजाएर राख्ने तयारी गरिएको छ ।

वास्तुकलाले सजाइने संग्रहालयको गजुर चिण्डोको बनाइने संयोजक खम्बुले बताएका छन् । संग्रहालय निर्माणका लागि स्थानीय शम्सेरजंग राई, मानबहादुर राई र पूर्णबहादुर राईले आठ रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् । निर्माणाधीन संग्रहालयका लागि करिब ५० रोपनी जग्गा जुटाउने तयारी गरिएको समितिले जनाएको छ । पर्यटन प्रवर्द्धनमा सघाउन पुर्‍याउने उद्देश्यले निर्माण सुरु गरिएको संग्रहालय आसपास विभिन्न संरचनासमेत निर्माण गरिने जनाइएको छ ।

दश स्थानीय तह रहेको जिल्लाका अन्य विभिन्न ठाउँमासमेत संग्रहालय निर्माणको काम सुरु गरिएको छ । आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको जिल्लामा किरात, मगर, तामाङ, शेर्पालगायत विभिन्न जातजातिको जातीय संग्रहालय निर्माण गरेर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ ।

यसैबीच, खोटाङका प्रजातान्त्रिक योद्धा स्व. सर्वधन राईको स्मृतिमा बृहत सांस्कृतिक संग्रहालय निर्माणको काम अघि बढाइएको छ । जहानिय राणा शासन र निरंकुश पञ्चायती व्यवस्थाका विरुद्ध संघर्ष गरेका प्रजातान्त्रिक योद्धाको स्मृतिमा उहाँकै जन्मस्थल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका- ४, खाल्लेस्थित सेरामा बृहत सांस्कृतिक संग्रहालय निर्माणको काम अघि बढाइएको हो ।

आर्थिक वर्ष २०७६/७७ मा प्रदेश सरकारबाट विनियोजन भएको ३० लाखबाट बृहत सांस्कृतिक संग्रहालय निर्माणका लागि पर्खाल हाल्ने, घेराबारा हाल्ने लगायतका प्रारम्भिक चरणका काम थालिएको छ । करिब १२ रोपनी क्षेत्रफलभित्र निर्माण गरिने बृहत सांस्कृतिक संग्रहालयका लागि प्रदेश सरकारबाटै आर्थिक वर्ष २०७७/७८ पनि ४५ लाख रूपैयाँ बजेट विनियोजन भएको प्रतिष्ठानले जनाएको छ । (रासस)

प्रकाशित समय १३:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु