गृहपृष्ठ रेशम चौधरीलाई रिहा नगरे प्रधानमन्त्री ओलीलाई सामाजिक बहिष्कारको चेतावनी
रेशम चौधरीलाई रिहा नगरे प्रधानमन्त्री ओलीलाई सामाजिक बहिष्कारको चेतावनी
पत्रकार सम्मेलनमा मोर्चाका पदाधिकारीहरू ।
थरुहट र थारुवान सहितका मोर्चाले प्रधामन्त्री केपी शर्मा ओली सहितका मन्त्रीहरुलाई सामाजिक बहिष्कार गर्ने बताएका छन् । मोर्चाले रेशमलाल चौधरी सहितका ११ जनालाई तीन महिनाभित्र रिहा नगरिए थारुवान र खस क्षेत्रमा प्रवेश निषेध गरिने चेतावनी दिएको हो ।
धनगढीमा शनिबार बिहान पत्रकार सम्मेलनको आयोजा गर्दै मोर्चाले असोजसम्मका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । साउन २५ गते प्रदेश सरकारलाई ज्ञापन बुझाउने, भदौ २ गते मानव अधिकार तथा नागरिक अगुवाहरुसँग छलफल गर्ने, ७ गते विरोध सभा, ८ गते टीकापुर घटनालाई स्मरण गर्दै कालो दिनको रुपमा मनाउने, असोज ३ गते देशव्यापी संविधानका धारा जलाउने र माग पुरा नभए दशैतिहारमा आन्दोलनका नयाँ कार्यक्रमहरु ल्याउने मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुले बताए ।
आन्दोलनप्रति नेपाल आदवासी जनजाति महासंघ प्रदेश समन्वय परिषद, नेपाल लोकतान्त्रिक पार्टी कैलाली, खसान राष्ट्रिय संघर्ष समिति, उत्पीडित समन्वय मञ्च कैलाली, नेपाल मगर संघ कैलाली, संघीय दलित शिल्पी मञ्च कैलाली र मिसन अम्बेडकर कैलालीले समेत एक्येबद्धता जनाएका छन् ।
थरुहट-थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक थारुले टीकापुर घटनालाई राजनीतिक रुपमा समाधान गर्नुपर्ने बताए । उनले तीन महिनाभित्र राज्यले समस्याको समाधान नगरे सामाजिक बहिष्कार गर्ने र उत्पन्न परिस्थितिको राज्यले जिम्मा लिनुपर्ने बताए ।
प्रकाशित समय १४:४० बजे

















