गृहपृष्ठ बेरुत विष्फोट : ६० जना अझै बेपत्ता, ३ लाखभन्दा बढी स्थानीय विस्थापित
बेरुत विष्फोट : ६० जना अझै बेपत्ता, ३ लाखभन्दा बढी स्थानीय विस्थापित
विष्फोटपछि बेरूत बन्दरगाहको एरियल फोटो । (तस्बिर: एएफपी)
लेबनानको राजधानी बेरुतमा भएको विष्फोटन कारण बेपत्ता भएकामध्ये ६० जना अझै सम्पर्कविहीन रहेका छन् । दुर्घटना भएको चार दिन बितिसक्दा समेत बेपत्ता भएकाहरुलाई पत्ता लगाउन नसकिएको अधिकारीहरुले जनाएका छन् ।
शक्तिशाली विस्फोटनका कारण अहिलेसम्म १ सय ५० भन्दा बढीको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । ‘अहिलेसम्म मृत्यु भएकाहरुको संख्या १ सय ५४ पुगेको छ । तीमध्ये २५ जनाको अहिलेसम्म पनि पहिचान हुनसकेको छैन,’ एक अधिकारीले भने ।
उनले अहिलेसम्म पनि ६० जना बेपत्ता नै रहेको र उनीहरुको खोजी तथा उद्धार प्रयास भइरहेको जानकारी दिए । स्वास्थ्य मन्त्रीले शुक्रबार दिएको जानकारीअनुसार झण्डै ५ हजार जना घाइते भएका र तीमध्ये १२० जनाको अवस्था गम्भीर रहेको बताए ।
विष्फोटनपछि झण्डै ३ लाखभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएका छन् भने त्यही रहेकाहरु पनि त्रसित अवस्थामा रहेका छन् । शक्तिशाली विष्फोटनका कारण उनीहरु घरबारविहीन भएकाले उनीहरु विस्थापित हुन परेको अधिकारीहरुले जनाएका छन् ।
लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार अबेर विनाशकारी र शक्तिशाली विस्फोट भएको थियो । करिब दुई हजार ७५० टन ‘एमोनियम नाइट्रेट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको यस विस्फोटनको आवाज धेरै ढाटासम्म सुनिएको थियो ।
यस गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइट्रेट’ भण्डारण गरिएको थियो । यस विस्फोटनको घटनाप्रति विश्वभरका नेताहरुले सहानुभूति र समवेदना व्यक्त गर्दै खेद व्यक्त गरेका छन् भने कतिपय देश तथा अन्तर्राष्ट्रिय निकायहरुले लेबनानलाई सहयोग पनि गरेका छन् ।
प्रकाशित समय १४:५३ बजे

















