गृहपृष्ठ बिजुली नबलेपछि तार काटेर गाईको दाम्लो
बिजुली नबलेपछि तार काटेर गाईको दाम्लो
दुई गाउँको किचलोले बिजुली नबल्दा हुम्ला सदरमुकाम सिमकोटको ठेहे गाउँका बासिन्दाले बिजुलीको तार काटेर गाई बाँध्ने दाम्लो बनाएका छन् । करिब दुई करोड खर्च गरेर एक दशकअघि बरगाउँ र ठेहेले संयुक्त रुपमा बनाएको टल्की बिजुली आयोजना गाउँलेहरूको किचलोकै कारण लथालिंग र अलपत्र परेको छ ।
आयोजनाका अध्यक्ष र कार्यसमितिका व्यक्तिले मर्मतसम्भारका नाममा पटक पटक आउने लाखौं रकम खाएर योजनालाई लथालिंग पारेको आयोजनाका पूर्वअध्यक्ष बरगाउँका पदम लामाले बताए । सकेसम्म पुनर्निर्माण र मर्मतको प्रयास गर्ने र नभए आजसम्म हिनामिना भएको करिब ६० लाखको लेखाजोखाका लागि अख्तियारमा निवेदन दिन बाध्य हुने उनले बताए ।
यो आयोजना हुम्लामै समुदायस्तरबाट निर्माण गरिएको सफल आयोजना मानिन्छ । एकातिर स्थानीयहरू आफूले श्रम गरेकाले निःशुल्क बिजुली बाल्न पाउनुपर्छ भन्ने र अर्कोतिर बर्सेनि मर्मतसम्भारका लागि आउने दशौं लाखको रकम चलाउन पाउने र नपाउनेको चपेटामा यो योजना परेको स्थानीय सञ्चारकर्मी सूर्यमणि बोहराको भनाइ छ ।
बिजुली बाल्दा केही समस्या आए आफैँ बन्द हुने अटो सिस्टम भएकाले जिल्लाकै सुरक्षित बिजुली मानिए पनि एक वर्षदेखि आयोजना बन्द छ । आयोजना बन्द भएपछि प्रसारणलाइन र घर‑घरमा लगिएका तार निकालेर स्थानीयले गाईवस्तु बाँध्न र अन्य घरेलु प्रयोजनमा प्रयोग गरेका छन् ।
टल्की आयोजनाबाट करिब तीन हजार घरधुरीले बिजुली बाल्दै आएका थिए । अहिले उनीहरू सल्लाको दियालो अर्थात् झरो बाल्न बाध्य छन् ।
प्रकाशित समय ११:४९ बजे

















