गृहपृष्ठ प्रधानमन्त्री ओली र भारतीय समकक्षीबीच फोनवार्ता
प्रधानमन्त्री ओली र भारतीय समकक्षीबीच फोनवार्ता
द्वीपक्षीय मुद्दामा संवाद जारी राख्ने सहमति
नेपाल र भारतबीच सीमा विवाद चुलिएपछि संवादहीनताको अवस्थामा रहेका दुई प्रधानमन्त्रीबीच शनिबार टेलिफोन वार्ता भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार फोन वार्ताका क्रममा प्रधानमन्त्री ओलीले भारतको ७४औँ स्वतन्त्रता दिवसको अवसरमा बधाई दिनुका साथै निरन्तर प्रगतिको शुभकामना दिएका छन् ।
प्रधानमन्त्री ओलीले मोदीको छिमक प्राथमिकता नीतिको प्रशंसा गर्दै सार्थक द्वीपक्षीय सहयोगका लागि नेपाल तत्पर रहेको बताएको मन्त्रालयले जनाएकाे छ । ओली र मोदीबीच कोभिड- १९ विरुद्ध भइरहेका पछिल्लो प्रयासबारे छलफल हुनुका साथै मिलेर काम गर्ने समझदारीसमेत भएको बताइएकाे छ ।
प्रधानमन्त्री ओलीले कोरोनाविरुद्ध खोप बनाउने भारतसहित विश्वभरको प्रयास सफल हुने विश्वास व्यक्त गरेका छन् । दुई देशका प्रधानमन्त्रीबीच नेपाल र भारतका द्वीपक्षीय मुद्दामा संवादलाई जारी राख्ने सहमति भएको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
भारतीय विदेश मन्त्रालयले पनि शनिबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले स्वतन्त्रता दिवसको अवसरमा बधाई दिएका उल्लेख गरेको छ । ‘उहाँले भारतले हालसालै राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यता प्राप्त गरेकामा पनि बधाई दिनुभयो,’ भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा छ ।
प्रकाशित समय १६:२५ बजे

















