गृहपृष्ठ ‘कोभिड-१९ संक्रमित कर्मचारीको उपचार बैंककै खर्चमा’
‘कोभिड-१९ संक्रमित कर्मचारीको उपचार बैंककै खर्चमा’
कोभिड-१९ जोखिम व्यवस्थापनका लागि राष्ट्र बैंकमा उच्चस्तरीय समिति
कोभिड-१९ को महामारी फैलिदै गएसँगै नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा पर्ने जोखिमको व्यवस्थापनका लागि केन्द्रीय बैंकका वरिष्ठ डेपुटी गभर्नरको संयोजकत्वमा ‘एनआरबी कोभिड–१९ जोखिम व्यवस्थापन उच्चस्तरीय समिति’ गठन गरिएको छ ।
उच्चस्तरीय समितिमा केन्द्रीय बैंककै अर्का डेपुटी गभर्नर, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग, जनशक्ति व्यवस्थापन विभाग, सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग, वित्त व्यवस्थापन विभागका कार्यकारी निर्देशक सदस्य र सेवा व्यवस्थापन विभागका निर्देशक सदस्य-सचिव रहने राष्ट्र बैंकले जनाएको छ ।
समितिले जोखिम व्यवस्थापनका लागि गर्नुपर्ने कामको नियमित अध्ययन र विश्लेषण गरेर नीतिगत निर्णय लिनेछ भने थप काम गर्नुपर्ने भएका गभर्नरलाई सिफारिस गर्ने जनाइएको छ ।
विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुसमेत धमाधम संक्रमित हुन थालेपछि राष्ट्र बैंकले ‘कोभिड-१९ संक्रमण जोखिमको व्यवस्थपन र बैंकको सेवा सुचारु राख्ने कार्ययोजना-२०७७’ जारी जोखिम व्यवस्थापन गर्दै बैंकिङ सेवा नियमित गर्न उच्चस्तरीय समिति गठन गरिने उल्लेख छ ।
बैंकका सञ्चालक/कर्मचारीलाई कोभिड-१९ सम्बन्धी समस्या सहजीकरण र सम्पर्क गर्न केन्द्रीय बैंकको सम्पत्ति व्यवस्थापन विभागमा ‘कोभिड-१९ सेफ्टी म्यानेजमेन्ट टिम (सी-एसएमटी) रहने छ ।
हालैमात्र राष्ट्र बैंकका एक जना कर्मचारीसमेत संक्रमित भएको समाचार आएको थियो । राष्ट्र बैंक भनेको बैंकहरूको पनि बैंक हो । यो देशको वित्तीय प्रणालीको नियामक निकायमात्र नभइ, बैंकहरूमार्फत नगद (नोट) प्रवाह गर्नेदेखि सरकारको आर्थिक कारोबारको पनि व्यवस्थापन गर्छ ।
केन्द्रीय बैंकले कोभिड-१९ महामारीका सन्दर्भमा बैंक तथा वित्तीय संस्थाहरूले पालना गर्नुपर्ने निर्देशनहरू जारी गरिरहेको भए पनि एकीकृत रूपमा राष्ट्र बैंक नै लक्षित कार्ययोजना जारी गरेको पहिलो पटक हो ।
राष्ट्र बैंकले हालैमात्र बैंक तथा वित्तीय संस्थाका लागि निर्देशन जारी गरेर सकेसम्म कम कर्मचारीमा आलोपालो प्रणालीमा बैंकका शाखा चलाउन, सकेसम्म ‘वर्क फ्रम होम’ बाट कर्मचारी खटाउन भनेको थियो ।
यो कार्ययोजना लागू भएपछि बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना लागि यही मानकअनुरुपका छुट्टाछुट्टै योजना बनाउन सक्ने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् ।
कार्ययोजनाअनुसार केन्द्रीय बैंकका अग्रपंक्तिमा रहेर बाह्य सम्पर्कमा रहेर काम गर्नुपर्ने कर्मचारीहरूलाई समूह-समूहमा हरेक १५ दिनमा पीसीआर परीक्षण गरिनेछ भने अत्यावश्यक परेर काजमा खटाइएका कर्मचारीको पनि पीसीआर परीक्षण गरिने छ ।
अन्य विभाग, महाशाखा, कार्यालयमा कार्यरत कर्मचारीको पनि कार्यको संवेदनशीलता र सम्भावित संक्रमणको अवस्था हरेर नमुनाका आधारमा परीक्षण गराइने राष्ट्र बैंकको कार्यविधिमा उल्लेख छ ।
प्रत्यक्ष सेवा दिने काउन्टरमा सिसा, डोरी, फेस सिल्डलगायत ‘प्रोटेक्टिभ ब्यारियर’को अनिवार्य व्यवस्था, मूल गेटमा इन्फ्रारेड थर्मोमिटर, हात धुने र ड्रायरका साथै स्यानिटाइजरको व्यवस्था गर्ने, प्रत्येक कार्यस्थलमा पर्याप्त मास्क, स्यानिटाइजर र ह्यान्डग्लोभ्स उपलब्ध गराउने, कर्मचारी-कर्मचारी र सेवाग्राहीसँग यथासम्भव २ मिटरको भौतिक दूरी कायम गर्ने कार्ययोजनामा जनाइएको छ ।
कोही कर्मचारी वा सञ्चालक संक्रमित भएमा अस्पता वा होटलमा आइसोसलनमा राखेर बैंककै खर्चमा उपचा गराउने, यस्ता संक्रमित व्यक्तिसँग सम्पर्कमा आएका अन्य कर्मचारीलाई आवश्यकताअनुसार होटलमा क्वारेन्टिनमा राख्ने र यस्तो खर्च बैंकले बेहोर्ने कार्ययोजनामा छ ।
संक्रमित वा तिनका प्रत्यक्ष सम्पर्कमा आएका कर्मचारी आइसोलेसनमा रहँदा बिनाभत्ता काज र क्वारेन्टिनमा रहँदा ‘वर्क फ्रम होम’को व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको छ ।
क्वारेन्टिन र आइसोलेसनमा रहेका सञ्चालक वा कर्मचारीको नियमित रेखदेख र तिनको आश्रित परिवारमा समेत कोभिड-१९ संक्रमण देखिएमा बैंकले नै खर्च बेहोर्ने गरी आइसोलेसन र उपचारको व्यवस्था गरिने जनाइएको छ ।
परिवारका सदस्यलाई मात्र संक्रमण देखिएमा भने कर्मचारीलाई क्वारेन्टिनका लागि ‘वर्क फ्रम होम’को व्यवस्था गरिने र संक्रमितको पीसीआर परीक्षण नेगेटिभ आएपछि मात्र कार्यालय जाने व्यवस्था गरिनेछ ।
प्रकाशित समय १६:१७ बजे

















