गृहपृष्ठ निषेधाज्ञा कडाइ गर्न वीरगञ्जमा सेना परिचालन

निषेधाज्ञा कडाइ गर्न वीरगञ्जमा सेना परिचालन

समुदायस्तरमा तीव्र रुपले फैलिरहेको कोरोना संक्रमणलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय पर्साले सेना परिचान गर्ने निर्णय गरेको छ । प्रशासन कार्यालयले आइतबार साँझ सूचना जारी गर्दै साउन ३२ गते बिहान ५ बजेदेखि लागू हुनेगरी भदौ १३ गते बिहान ५ बजेसम्मका लागि सेना परिचान गर्न निर्णय गरेको हो ।

कोरोना संक्रमणले जिल्लालाई आक्रान्त बनाइरहेको बेला वीरगञ्जमा विगत २२ दिनदेखि जारी निषेधाज्ञालाई कडाइका साथ लागू गराउन फ्रन्टलाईनमा खटिरहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगका लागि सेना परिचालन गरिएको प्रशासनले जनाएको छ । पर्सामा साउन १० गतेदेखि वीरगञ्ज महानगरपालिका र श्रावन १८ गतेदेखि जिल्लाका अन्य स्थानीय तहगरी सम्पूर्ण जिल्लामै लगाइएको निषेधाज्ञा प्रभावकारी हुनसकेको थिएन ।

पर्साका नयाँ प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जारी गरेको सूचनामा पहिलेदेखि नै जारी गरिएको निषेधाज्ञालाई थप कडाइका साथ पालना गराउन सेना परिचालन गरिएको उल्लेख छ । कोरोनाभाइरस संक्रमण समुदायस्तरमा फैलिसकेको वीरगञ्जमा दिनानुदिन संक्रमितहरुको संख्यामा वृद्धि हुने क्रम रोकिएको छैन भने साउनयता मात्रै कोरोनाका कारण यहाँ २० जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

संकट व्यवस्थापन केन्द्र पर्साले लगाएको निषेधाज्ञालाई स्थानीयले उल्लंघन गरेर हिँडडुल गर्दै समूह बनाएर जम्म हुने, मुख्य सडकबाहेक नगरका गल्ली र ग्रामीण भेगमा निषेधाज्ञाको असर नदेखिएको र हेलचेक्र्याइँ गर्दै अवैध बाटो प्रयोग गरेर कयौं व्यक्ति भारतबाट नेपाल प्रवेश गरेकोसमेत गुनासो आएपछि सेनाको सहारा लिइएको हो ।

प्रकाशित समय १९:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु