गृहपृष्ठ प्रदेश राजधानीमा निषेधाज्ञा : उद्योग वाणिज्य संघको फरक मत
प्रदेश राजधानीमा निषेधाज्ञा : उद्योग वाणिज्य संघको फरक मत
वीरेन्द्रनगर बजार ।
भदौ १ गतेदेखि जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिकामा निषेधाज्ञा जारी गरेको छ । भदौ १ गते बिहान ६ बजेदेखि ५ गते राति १२ बजेसम्म गरिएको निषेधाज्ञामा अत्यावश्यकबाहेक बाहिर निस्कन रोक लगाइएको छ । नेपाल सरकारले गत २०७६ चैत्र ११ गते देखि आव्हान गरेको लकडाउन २०७७ साउन ६ गते खुलेको थियो । लकडाउन खुलेसँगै कोरोनाभाइरस (कोभिड- १९) को जोखिम उच्च भएको भन्दै वीरेन्द्रनगर नगरपालिका निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।
त्यसो त वीरेन्द्रनगर नगरपालिकामा पछिल्लोसमय समुदाय स्तरमा कोरोनाभाइरस पुष्टि भएपछि नागरिक स्तरबाट समेत लकडाउन गर्नको लागि दबाव बढेको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हिरालाल रेग्मीले बताए । उनले वीरेन्द्रनगर नगरपालिकामा निषेधाज्ञा गर्नुपर्ने मुख्य तीन कारण रहेको बताए । बजारको अत्याधिक भिडभाड, चाडपर्व नजिकिँदै गरेको र समुदाय स्तरमा कोरोनाभाइरस फैलिसकेको अवस्थालाई मध्यनजर गरी वीरेन्द्रनगरमा निषेधाज्ञा जारी गरेको उनले बताए । ‘समुदाय स्तरमा कोरोना देखिएपछि कन्ट्रयाक ट्रेसिङ गर्न स्वास्थ्यकर्मीलाई निकै कठिन देखियो । जसलाई कोरोना पोजेटिभ देखिएको छ, उसँग सम्पर्क भएको व्यक्ति अन्यत्रै गइसकेको भेटियो । उसले समेत धेरैसँग घुलमिल गरिसकेको हुनसक्छ,’ उनले भने । वीेरेन्द्रनगरका स्थानीयवासीहरुको अटेरीपन समेत बढ्दै गएकाले कारोना जोखिमबाट नागरिकलाई बचाउन निषेधाज्ञा नै अन्तिम विकल्प भएको उनले बताए ।
निषेधाज्ञाको लागि नगरपालिका, उद्योग वाणिज्य संघ, नागरिक अगुवा र प्रदेश सरकारसमेत सकारात्मक भएकाले कार्यान्वयनमा सहज हुने उनले बताए । निषेधाज्ञा उल्लंघन गर्नेलाई स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने उनले जानकारी दिए । भदौ ५ पछि निषेधाज्ञा थपिने/नथपिने कुरामा भने स्वास्थ्यर्कीहरुसँगको छलफलपछि नै जानकारी हुने उनले बताए । नागरिक नै सबैथोक भएकाले उनीहरुलाई संक्रमणबाट बचाउन निषेधाज्ञाको उल्लंघन गर्नेलाई कडा कारबाहीको तयारी प्रशासनले गरेको प्रजिअ रेग्मीले बताए ।
यता सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले भने लामोसमयको लकडाउनले व्यवसायीहरु आर्थिक घाटामा परेको बताए । ‘कर्णालीमा कोरोनाभाइरसको जोखिम बढेकाले यसलाई नियन्त्रण गर्नुपर्छ भन्ने त लागेकै हो,’ उनले भने, ‘समुदायस्तरमा समेत संक्रमण फैलिएकाले निषेधाज्ञा गरिएको होला ।’ उनले जुन समुदायमा कोरोना पुष्टि भएको हो, सो क्षेत्रलाई सिल गरी व्यवसाय सञ्चालन गर्न दिए पनि हुने बताए ।
उनका अनुसार यसअघि नेपाल सरकारले आव्हान गरेको लकडाउनको कारण व्यवसायीहरुले घरभाडा, बैंकको व्याजसमेत तिर्न सकेका छैनन् । आर्थिक मेरुदण्डको रुपमा रहेको व्यवसायलाई पटकपटक बन्द गर्दा राज्यलाई नै घाटा हुने उनले तर्क गरे । ‘भदौ ’ गतेपछि पनि निषेधाज्ञा निरन्तर भयो भने हामी त्यसलाई खोल्नेतर्फ प्रयत्न गर्छौं,’ उनले थपे, ‘अहिलेलाई जोखिम बढेकाले आर्थिक घाटा भए पनि यसको कार्यान्वयनमा हाम्रो समर्थन छ ।’ भदौ ५ गतेसम्मको निषेधाज्ञालाई व्यवसायीहरुले समर्थन गरेको भन्दै त्यसपछि निषेधाज्ञा नथपिने विश्वास आफूहरुलाई भएको उनले बताए ।
गत साउन २९ गते बसेको जिल्ला कोभिड- १९ संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिस तथा २९ गते नै बसेको जिल्ला सुरक्षा समिति बैठकको निर्णयअनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम वीरेन्द्रनगर नगरपालिकालाई निषेधाज्ञा गरिएको हो । यो अवधिमा अत्यावश्यक सेवा स्वास्थ्य, सुरक्षा, विद्युत, दुरसञ्चार, खानेपानी, दुध, फोहोरमैला व्यवस्थापन, ग्यास तथा पेट्रोलियम पदार्थ, औषधि पसल तथा तरकारी लगायतका सेवा भने बन्द नहुने प्रशासनले जनाएको छ ।
त्यस्तै स्वास्थ्य संस्था र अत्यावश्यक कार्यालयहरु बाहेक बैंक, वित्तीय संस्था, सहकारी संस्थासहित सबै सरकारी निजी तथा गैरसरकारी क्षेत्रका कार्यालयहरुबाट प्रवाह हुने आन्तरिक अत्यावश्यक सेवाहरु सबै बन्द हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।
मृत्यु/दाहसंस्कारमा बढीमा १५ जना बाहेक धार्मिक, सांस्कृतिक, सामाजिक (विवाह व्रतवन्ध)लगायत कुनै प्रकारको जमघट, भेला गर्न पाईने छैन । तर अत्यावश्यक सवारी साधन एम्बुलेन्स, शवबाहन, दमकल, भण्डावाल सवारी, सुरक्षा, स्वास्थ्य,र कुटनीतिक नियोगका सवारी साधनका साथै प्रेस तथा सञ्चारकर्मीहरुका सवारी साधनहरु चलाउन पाइने छ ।
भेरीगंगा नगरपालिकामा बजार बन्द
कोरोनाको जोखिम बढेको भन्दै भेरीगंगा नगरपालिका क्षेत्रभित्र रहेका बजार पनि आज (सोमबार)देखि बन्द गरिने भएको छ । नगरपालिकाकाले कोरोना संक्रमणको जोखिम बढ्ने सम्भावना बढी भएको भन्दै आज साँझ सात बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म बजार क्षेत्र बन्द गर्ने निर्णय गरेको हो । आइतबार नगरपालिकामा बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको छ । भेरीगंगा नगरपालिकाभित्र पर्ने छिञ्चु, जहरे, झिग्नी र रामघाट बजार बन्द रहने नगरपालिकाले सुचना गरेकोे छ । नगरपालिकाले अतिआवश्यकबाहेक घरबाहिर ननिस्कनसमेत सर्वसाधारणलाई अनुरोध गरेको छ ।
उच्च अदालतको सेवा बन्द
वीरेन्द्रनगरमा कोरोना जोखिम बढेसँगै निषेधाज्ञा जारी भएपछि उच्च अदालत सुर्खेतले पनि सेवा बन्द गरेको छ । जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेपछि केही सेवाबाहेक अन्य सेवा बन्द गरेको उच्च अदालतले जनाएको हो । आइतबार बसेको उच्च अदालतको बैठकले निषेधाज्ञा अवधिभर अदालतबाट भइरहेको सेवामध्ये बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता र सुनुवाई तथा कोभिडसँग सम्बन्धित रिट निवेदनको दर्ता र नियमित सुनुवाई गर्ने बाहेकका अन्य सेवा स्थगित गरेको हो ।
प्रकाशित समय २०:२२ बजे

















