गृहपृष्ठ पहिरोले म्याग्दीको हिलबाङ खोला थुनियो : तल्लो क्षेत्रका गाउँ जोखिममा
पहिरोले म्याग्दीको हिलबाङ खोला थुनियो : तल्लो क्षेत्रका गाउँ जोखिममा
म्याग्दीको मंगला गाउँपालिका ५ अर्मनमा पहिरो जाँदा हिलबाङ गाउँ हुँदै बग्ने ठाडो खोला थुनिएको छ । अर्मनको पाखु सामुदायिक वनबाट सोमबार दिउँसो ४:३० बजे पहिरो खस्दा ठाडो खोला थुनिएपछि खानिवास, कुर्सिला र खारापानी क्षेत्रमा जोखिम बढेकाले स्थानीयलाई सतर्क रहन अनुरोध गरिएको मंगला ५ का अध्यक्ष भुपेन्द्रबहादुर खत्रीले जानकारी दिए ।
‘माथि डाँडाबाट खसेको पहिरो खोलामा गएर थुप्रिएको छ, पहिरोले थुनिएको खोला एकैचोटि बग्न थाल्यो भने तल्लो क्षेत्रका गाउँहरुमा क्षति पु‑याउन सक्छ,’ अध्यक्ष खत्रीले भने । यसैबीच, पहिरोले थुनिएको हिलाबाङ खोलाको अवस्था बुझ्न स्थानीय जनप्रतिनिधिसहितको एक टोली पहिरो स्थलतर्फ गएको छ । अध्यक्ष खत्रीको नेतृत्वमा गएको टोलीले वनबाट खसेको पहिरोले थुनिएको खोलामा ठूलो पोखरी बनेकाले तल्लो क्षेत्रमा जोखिम बढेको जनाएको छ ।
पहिरो स्थलमा बाबियाचौरबाट प्रहरीको टोलीसमेत प्रस्थान गरेको छ । खोला थुनिएपछि कुर्सिला र खारापानीका बासिन्दा त्रसित भएका छन् । साविकको अवस्थामा पानी नबगेसम्म तल्लो तटीय क्षेत्रका बासिन्दालाई सजग रहन अनुरोध गरिएको छ । (रासस)
प्रकाशित समय ०६:५१ बजे

















