गृहपृष्ठ सशस्त्र प्रहरीका ४२ जनामा कोरोना संक्रमण
सशस्त्र प्रहरीका ४२ जनामा कोरोना संक्रमण
राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं. ३ गढीमाई बाहिनी बागमती प्रदेशका ४२ प्रहरीमा एकैसाथ कोरोना संक्रमण देखिएको छ । उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड १९ प्रयोगशालाले जानकारी दिएको छ ।
यसअघि सोही बाहिनीका आठ जनामा कोरोना संक्रमण देखिएपछि अन्यको परीक्षण गरिएको बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले जानकारी दिए । ६० जनाको नमुना संकलन गरी पठाइएकामा ४२ जनामा संक्रमण देखिएको जानकारी आफूले प्राप्त गरेको उनले बताए । नौ जनालाई ज्वरो आएकामा निको हुँदै गएर सोमबार साँझ एक जनालाई मात्र ज्वरो बाँकी रहेको उनले बताएका छन् ।
बाहिनीमा ३०० भन्दा बढी सशस्त्र प्रहरी छन् । यो बाहिनीले बागमती प्रदेशको राजधानीका तीन जिल्लाबाहेकका जिल्ला हेर्ने गर्छ । दुई दिनअघि चितवनका नगर प्रमुखहरुको बैठकले सो बाहिनी उच्च जोखिममा रहेको भन्दै त्यहीँ आइसोलेसन निर्माण गर्न बागमती प्रदेशलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।
राप्ती नगरप्रमुख प्रभा बरालले संक्रमण देखिएपछि सशस्त्र प्रहरी सबै बाहिनीभित्रै रहेकाले बाहिर संक्रमण फैलिन नपाएको अनुमान गरिएको बताए । संक्रमण देखिएका प्रहरीलाई त्यहीँभित्र आइसोलेसन तयार गरी उपचार गरिने उनले जानकारी दिए । सोमबार राति अबेर कोभिड १९ प्रयोगशालामा आएको नतिजाअनुसार ५० संक्रमितमध्ये ४६ चितवनका हुन् । (रासस)
प्रकाशित समय ०७:३७ बजे

















