गृहपृष्ठ एनएमबी बैंकका अधिकांश बैंकिङ सेवा अब अनलाइनबाटै, के-के गर्न सकिन्छ ?
एनएमबी बैंकका अधिकांश बैंकिङ सेवा अब अनलाइनबाटै, के-के गर्न सकिन्छ ?
एनएमबी बैंकमा अनलाइन माध्यमबाटै मुख्य बैंकिङ गतिविधि गर्न सकिने भएको छ । बैंकले डिजिटल बैंकिङको प्रवर्धनका लागि वेब र मोबाइल एप्लिकेसनमा दुवैमा एनएमबी ओम्नी च्यानल सञ्चालनमा ल्याएको हो ।
‘साँच्चै डिजिटल बैंकिङ अनुभव’ मूल मन्त्रसहित ओम्नी च्यानल डिजाइन गरी कार्यान्वयनमा ल्याइएको बैंकले जनाएको छ । यससँगै एनएमबी ओम्नी च्यानलको प्रयोगबाट ग्राहकले नियामक निकायका आवश्यकताबाहेक बैंकसम्म नधाईकनै आफ्नो मोबाइल फोन र अन्य अनलाइन प्लेटफर्मबाट मुख्य बैंकिङ गतिविधि सञ्चालन गर्न सक्नेछन् ।
यससँगै केवाईसी अपडेट गर्न, पिन र पासवर्ड रिसेट गर्न, टिडिएस स्टेटमेन्टहरू हेर्न, बचत र एफडी खोल्न तथा बन्द गर्न, समयअगावै एफडी प्रिम्याचुअर गर्न, एफडीबापत कर्जा लिन, खाताको उद्देश्य, कारोबार संख्या, रकमको स्रोत, प्यान, भ्याट, स्थायी ठेगाना, वैवाहिक स्थिति, पेसा अपडेट गर्न, चेक बुक अनुरोध गर्न, चेक भुक्तानी रोक्का गर्न, खाता सक्रिय गर्न, नयाँ डेबिट कार्ड अनुरोध गर्न, नवीकरण गर्न, रिसेट वा रोक्का गर्न, एकभन्दा बढी खाताहरू हेर्न, डिमान्ड ड्राफ्टहरू जारी गर्न, एफडीआई प्रमाणपत्र प्राप्त गर्न, युएसडी कार्ड अनुरोध गर्न, टप अप गर्न, कर्जा योग्यता परीक्षण गर्न, खाताको स्टेटमेन्ट हेर्न, ब्यालेन्स प्रमाणपत्र प्राप्त गर्न, टिडिएस प्रमाणपत्र प्राप्त गर्न, स्विफ्ट ट्रान्सफर अनुरोध गर्न र अन्य विविध सेवाका लागि बैंकसम्म पुग्नु नपर्ने भएको छ ।
ग्राहकले आईओएसका लागि एप स्टोर र एन्ड्रोइडका लागि गुगल प्लेबाट बैंकको ‘इ‑एनएमबी’ मोबाइल एप्लिकेसन डाउनलोड गरेर सेवा सुरू गर्न सक्नेछन् । ‘एनएमबी ओम्नी च्यानलले ग्राहकले नेपालमा डिजिटल बैंकिङको खास अनुभव गर्न सक्ने कम्पनीको विश्वास छ ।
ग्राहकले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको सीमितताभन्दा माथि उठेर बैंकमा नधाईकनै प्रशस्त सम्भावनासहित मुख्य बैंकिङ गतिविधि सञ्चालन गर्न सक्ने बैंकले जनाएको छ । कोभिड महामारीको बीचमा एनएमबी ओम्नी च्यानलका कारण ग्राहकले घरमै बसी सुरक्षित तवरले बैंकिङ कारोबार गर्न सक्ने अवस्था सिर्जना गर्न सकिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित समय ०७:३१ बजे

















