गृहपृष्ठ कैलालीको श्रीलंकामा कर्णाली नदीले गर्‍यो १५ बिघा जमिन कटान

कैलालीको श्रीलंकामा कर्णाली नदीले गर्‍यो १५ बिघा जमिन कटान

फाइल तस्बिर

कैलालीको टीकापुर–८ श्रीलंकामा कर्णाली नदीले १५ विघा नदी कटान गरेको छ । नदी कटान तीव्र भएपछि स्थानीयवासीमा त्रास सिर्जना भएको छ । नदीले टापुका रुपमा रहेको श्रीलंकामा कटान तिब्र पारेपछि स्थानीयले नदी कटान रोक्न स्थानीय सरकारलाई दवाव दिन थालेका छन् ।

स्थानीय जनक बोहराले नदी श्रीलंकातर्फ फर्किएर यसवर्ष मात्रै १५ विघा जमिन कटान गरिसकेको बताए । ‘नदीको बर्दियातर्फ तटबन्ध निर्माण भएको छ । कैलालीको भाग बाँकी छ,’ बोहराले भने, ‘दुई वर्षयता नदी कैलालीतर्फ बढी कटान गर्न थालेको छ । नदीले टापुका रुपमा रहेको श्रीलङ्का सक्ने त्रास सिर्जना भएको छ ।’ उनले वैशाखदेखि नै कटान सुरु गरेको नदीले यसवर्ष मात्रै १५ विघा जमिन कटान गरेकोले बस्ती विस्थापित हुने जोखिम बढेको बताए ।

‘श्रीलंकामा नदीमा पानीको बहाव बढ्दा पनि कटान हुन्छ, घट्दा पनि कटान हुन थालेको छ,’ बोहरा भने, ‘वर्षेनीको कटानले नदीको बीचमा करिव ५०० विघा टापु बनेको छ । अहिले टापु रहेको ठाउँमा नदी बग्थ्यो, नदीले धार परिवर्तन गरेर स्थानीयको ५०० विघा जमिन प्रयोगविहीन भएको छ ।’

बोहराको पहिले श्रीलंकामा साढे ८ विघा जमिन थियो । वर्षेनीको कर्णालीको कटानले अहिले ३ विघामात्र बचेको छ । ‘एकातिर जमिन छैन, अर्कोतिर त्यहाँका नागरिकले जग्गाधनी पूर्जाअनुसारको सरकारलाई कर तिरिरहेका छन्,’ स्थानीय धनकला बुढाले भने, ‘कर तिर्छौँ तर आफूले पाउनुपर्ने सेवा सुविधा केही पाइएको छैनौँ ।’ अहिले नदीले बोहरासहित दिपेन्द्र भण्डारी, गोपाल साउँद, दिनेश बोहरा, चुलीराम चौधरी, प्रजिते साउँदलगायत नागरिकको जमिन कटान गरिरहेको छ । स्थानीय दिनेश बोहरा सरकारले नदी कटान रोक्नका लागि काम शुरु नगरे श्रीलंका गाउँ नै खतरामा पर्ने बताए ।

कर्णाली नदीको पूर्वपट्टी बर्दियातिर कर्णाली नदी व्यवस्थापन आयोजना र पश्चिमपट्टी कैलालीतिर रानी जमरा कुलरिया सिँचाइ आयोजनाले तटबन्ध गरिरहेको छ । श्रीलंका कैलालीको भूभाग भए पनि कर्णाली पारी बर्दियाको राजापुर नगरपालिकासँग जोडिएको छ । त्यस क्षेत्रमा कर्णाली नदी व्यवस्थापन आयोजनाले तटबन्धको काम गरिरहेको छ । त्यो क्षेत्रमा करिब २ हजार ३०० मिटर तटबन्ध गर्न बाँकी छ । त्यसमा अहिले अस्थायी तटबन्धको काम गर्दा राम्रो नहुने भएकाले स्थायी तटबन्धको लागि पहल भइरहेको आयोजनाका प्रमुख धर्मकुमार न्यौपानेले बताए । ‘आयोजनाले काम गरिरहेको छ,’ आयोजना प्रमुख न्यौपानेले भने, ‘वर्षेनी काम हुन्छ, स्थायी तटबन्ध निर्माण गछौँ ।’

टीकापुर–५ शाहीपुरमा पनि कर्णाली नदीमा सिँचाइ आयोजनाले निर्माण गरेको तटबन्ध भत्कने जोखिम बढेको छ । तटबन्ध वरिपरीको माटोमा चिरा पर्न थालेकाले नदी बस्ती पस्ने जोखिम बढेको हो । नदी बस्तीमा पसे टीकापुर नगरपालिका डुबानमा पर्ने देखिन्छ । शाहीपुरमा तटबन्ध भत्किएमा टीकापुरमा हजारौँ परिवार डुबानमा पर्नुका साथै हजारौँ विघा जमिन कटान र डुबानमा पर्ने भएकाले आयोजनालाई अस्थायीरुपमा भए पनि तटबन्ध गर्न आग्रह गरेको स्थानीय बडघर धर्मराज जैसीले बताए ।

‘सिँचाइले तटबन्ध गरिरहेको छ । निर्माण कम्पनीले एकै वर्ष सक्नुपर्ने थियो,’ जैसी भन्छन्, ‘हरेक वर्ष आधा–आधा काम गर्छन्, जसले थप बस्तीमा त्रास सिर्जना हुन्छ । आयोजनाले समयमै सक्न निर्देशन दिनुपर्छ ।’ (रासस)

प्रकाशित समय ०९:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु