गृहपृष्ठ जंगलमा नफालिएका नन्दराजको कमाल : कुहिनाले लेखेर स्नातकोत्तर

जंगलमा नफालिएका नन्दराजको कमाल : कुहिनाले लेखेर स्नातकोत्तर

मानिस हरहमेसा आफ्नो जीवन र जीवनका प्राप्तिसँग असन्तुष्ट रहन्छ । हुन त, कुनै पनि विन्दुमा पुगेर सन्तुष्टि प्राप्त गर्नु भनेको थप यात्रा वा आकांक्षा समाप्त हुनु हो । त्यसैले यात्राको निरन्तरता र अरु प्राप्तिका लागि केही न केही असन्तुष्टि बाँकी रहनु आवश्यक होला । तर, सीमाभन्दा बढी असन्तोषले जीवन कष्टसाध्य मात्र होइन नजिकैका खुशी र सफलताहरुबाट पनि विमुख भइदिन्छ । बरु, आफूसँग जे-जति उपलब्ध छ त्यसैमा रम्न सके जीवन सुखद बन्छ । भएका क्षमतालाई आफ्नो अवस्थाबाट अधिकतम सदुपयोग गर्नु नै प्रगतिको यात्रा तय गर्नु हो ।

अधिकांश मानिसहरु समाज, समय र भाग्यलाई दोष दिन्छन् । तर विरलै यस्ता पात्र पनि भेटिन्छन्, जो जटिल र असहज अवस्थाका वावजुद विनागुनासो अगाडि बढ्छन् । सुन्दर यात्रा तय गर्छन् । समाजमै उदाहरणीय बन्छन् । यस्ता दुर्लभमध्येका एक पात्र हुन्, बैतडीको सुर्नया गाउँपालिकाका नन्दराज भट्ट ।

यात्रा जारी राखे केही ढिलो वा छिटो होला, तर अवश्य सफल भइन्छ भन्ने उदाहरण बनेका छन् उनी । शारीरिक रुपले पूर्णअपांगता सहित जन्मिएका नन्दराजले स्नातकोत्तरसम्मको पढाइ पूरा गरे । अहिल आफूजस्तै अपांगता भएकाहरुको हकअधिकारका लागि सक्रिय छन् । सामाजिक कार्यमा केन्द्रित छन् ।

२०४५ सालमा बैतडीको सुर्नया गाउँपालिका- ३ मा जन्मिएका नन्दराज अहिले हर जोकोहीका लागि प्रेरणादायी पात्र बनेका छन् । शारीरिक रूपमा अशक्त भए पनि उनी वौद्धिक रूपमा कोहीभन्दा कम छैनन् । राजनीतिशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर गरेका उनी कक्षामा कहिल्यै दोस्रो भएनन् ।

जंगलमा फाल्न गाउँलेको सुझाव

सुदूरपश्चिमको पहाडी तथा दुर्गम जिल्ला बैतडीमा जन्मिएका नन्दराजको हातखुट्टा छैन । उनी बावुआमाका पहिलो सन्तान हुन् । उनको जन्मले परिवारमा खुशीभन्दा ‘असहजता’ ल्याइदियो । आमाबुवालाई ‘छोरा त जन्मियो तर अब के गर्ने, कसो गर्ने ?’ भन्ने भयो । भेट्न आएका आफन्त र इष्टमित्रहरुले पनि नन्दराजका आमाबुवालाई सान्त्वना दिएनन् । उल्टो थप हिनतावोध गराए । दुखी बनाए, निराश तुल्याए ।

‘जिउँदै मारिदिनू, यस्तो हातखुट्टा नभएको छोरा पालेर के गर्नुहुन्छ ?’ नन्दराजका आमाबुवालाई कतिपयले यस्तै भनेका थिए । ‘हुन त तीन दशक अघिको समाजमा हातखुट्टा नै नभएको मानिसले जिउनु सहज थिएन पनि । त्यसैमाथि हामी विपन्न वर्गका मान्छे,’ नन्दराज भन्छन् । अनौठो बालक जन्मिएको भन्ने सुनेर हेर्न आउनेको घुइँचो नै लाग्थ्यो उनको घरमा । अन्य गाउँलेहरुले सन्तान पनि त्यस्तै हुने डर देखाए । ‘हातखुट्टा नै नभएकालाई के पाल्छस्, जंगलमा लगेर फालिदे,’ उबेला उनको अवस्था देखेर आमाबुवालाई गाउँलेहरुले भनेको कुरा नन्दराज सुनाउँछन् ।

 तर, आमाबुवाको मन त्यस्तो कहाँ हुन्छ र ! छरछिमेकीका ‘तीर’रूपी वचनवाण सहेर उनका आमाबुवाले आफ्नो पारिवारिक क्षमताले भ्याएसम्म नन्दराजको पालनपोषणमा कुने कमी हुन दिएनन् । जसको परिणाम, नन्दराज आज समाजको एक उदाहरणीय पात्र बनेका छन् ।

ओँठ र नाकले कम्प्युटर

जब नन्दराज हुर्कंदै गए, उनलाई विद्यालय जान मन लाग्यो । तर विद्यालय गएर पनि कसरी लेख्न सक्ला र, पढ्न सक्ला र भनेर घरबाट उनलाई विद्यालय पठाइएन । त्यसपछि गाउँको विद्यालयका शिक्षकले उनलाई घरमै आएर भेटेपछि लेख्ने अभ्यासमा उनी लागे । मुखले, खुट्टाले र कुमको अभ्यासपछि उनी कुम र कुहिनाले लेख्ने भए । कक्षा ३ सम्म उनले घरमै बसेर अध्ययन गरे । त्यसपछि परिवारका सदस्यहरुले उनलाई पिठ्यूँमा बोकेर विद्यालय लैजाने र ल्याउने गरे । यसरी नै उनले गाउँकै विद्यालयबाट प्राथमिक तह उत्तीर्ण गरे । गाउँभन्दा टाढा डेरामा बसेर उनले माध्यमिक तहको पढाइ पूरा गरे । जिल्ला सदरमुकामबाट उच्च शिक्षा, धनगढीबाट स्नातक र काठमाडौँबाट स्नातकोत्तरसम्मको अध्ययन सके । स्नातकोत्तर उत्तीर्ण गर्दासम्म नन्दराजलाई भाइले सहारा दिए ।

पढाई सकेपछि उनी अपांगताकै क्षेत्रमा काम गर्ने संस्थामा काम गर्न थाले । उनी अहिले लेख्ने, पढ्ने, खाना खाने, दाह्री काट्ने लगायतका दैनिक क्रियाकलाप सजिलैसँग आफैँ गर्छन् । उनी मोबाइल र कम्प्युटर पनि राम्रैसँग चलाउँछन् । ओठ र नाकले मोबाइल चलाउँछन् । ‘खाना पकाउने र कपडा धुने बाहेकका सबै काम म सजिलैसँग गर्छु,’ नन्दराज भन्छन्, ‘ती दुई कामका लागि भने श्रीमतीले सघाउँछिन् ।’ २०७१ सालमा प्रेमविवाह गरेका नन्दराजकी एक छोरी छन् ।

गुरुहरुको प्रेरणा र आफ्नै मेहेनतले सधैँ प्रथम

कक्षा ३ सम्म घरमै अध्ययन गरेका नन्दराज कक्षा ४ बाट मात्रै विद्यालय गए । र पहिलो वर्षमै प्रथम स्थान हासिल गरे । आमाबुवाको गतिलो आर्थिक स्रोत नहुँदा पनि उनको पढ्ने चाहाना भने रोकिएन । कृषिमै आश्रित उनको परिवारले नन्दराजलाई अनेक दुख गरेर पढाए । घरमा भएको अन्नबाली लगायतका खेतबारीका उत्पादनहरु बेचेर उनको पढाइ खर्च जुट्थ्यो ।

तत्कालीन भुवनेश्वर प्राथमिक विद्यालयबाट कक्षा ५ उत्तीर्ण गरेका नन्दराज अहिले पनि आफ्ना गुरुहरु गजाधर भट्ट र हर्कबहादुर विष्टको प्रेरणादायी साथका लागि कृतज्ञता प्रकट गर्छन् । ‘उहाँहरुकै कारण मैले पढ्न पाएको हुँ । उहाँहरुकै साथ र सद्भावले म लगनशील हुन प्रेरित भएँ र जहिले पनि कक्षामा प्रथम भए,’ नन्दराज विगत सम्झिन्छन् ।

कोठा र कलेज भर्नाका दुख

गृहजिल्ला बैतडीबाट धनगढी झरेका उनलाई नत कसैले कोठा दिन नै विश्वास गरे नत कुनै कलेजले नै भर्ना लियो । ३ महिनासम्म मामाघर बसेर उनले धनगढीका कलेज धाए । यसबीचमा उनले कोठा पनि पाएनन् र उनलाई कलेजले भर्ना लिनमा पनि मानेन । ‘केही कलेजले अपांगमैत्री नभएको भन्दै फर्काए । कसैले कोटा पूरा भइसकेको भन्दै भर्ना गरिदिएनन्,’ नन्दराज ती दिन सम्झन्छन् ।

कलेजको भौतिक संरचनाले नन्दराजको अध्ययन मोहलाई भने टार्न सकेन । निजी कलेजहरूले अस्वीकार गरेपछि उनी कैलाली बहुमुखी क्याम्पसमा पुगे । कैलाली बहुमुखी क्याम्पसका तत्कालीन क्याम्पस वयवस्थापन समितिका अध्यक्ष घनबहादुर शाहको जोडले उनी भर्ना भए । ‘अहिले त केही सहज भयो होला तर त्यो बेला मैले धनगढीसँग ठूलै संघर्ष गर्नुपरेको थियो,’ उनी भन्छन् । त्यसपछि कोठा पनि पाएँ । भाइलाईसँगै लिएर उनले स्नातक उत्तीर्ण गरे ।

समाज परिवर्तनको अठोट

त्यतिका मेहेनत गरी स्नातकोत्तर उत्तीर्ण गरेका नन्दराजले अपांगताकै क्षेत्रमा काम गर्न रुचि राखे । करिब ९ वर्षअघि खोलिएको संस्था ‘सर्वाङगीण अपांगता विकास समाज’ नामक संस्थामा उनले सुरुमा अध्यक्ष भएर काम गरे । अहिले उनी संस्थाको कार्यकारी निर्देशक छन् ।

नन्दराज भन्छन्, ‘मैले राम्रै ठाउँमा काम गर्न खोजेको भए पाउने थिएँ । तर आफू हुर्केको अवस्था हेर्दा अपांगता भएकाहरुलाई नै अगाडि बढाउनुपर्छ भनेर संस्थामा काम गरिरहेको छु । अपांगता भएका व्यक्तिहरुलाई समाजले हेर्ने नजर र गर्ने व्यवहार नै परिवर्तन गर्नेतर्फ आफू केन्द्रित भएको उनी बताउँछन् ।

प्रकाशित समय १५:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु