गृहपृष्ठ ‘यस वर्षको तीज अविष्मरणीय’

‘यस वर्षको तीज अविष्मरणीय’

फाइल तस्बिर ।

आज हरितालिका तीजको अघिल्लो दिन अर्थात् दर खाने दिन । विगतका वर्षमा तीजको एक महिनाअघिदेखि दर खाएर रमाइलो गर्दै आइरहेका महिला यस वर्ष भने कोरोना कहरले घरभित्रै बसेका छन् ।

कोरोनाभाइरसका कारण नेपाल पनि ठूलो पीडामा छ । काठमाडौँ उपत्यकामा सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएको जनाउँदै निषेधाज्ञा आजदेखि जारी गरेको छ । यसका कारण अत्यावश्यकबाहेक अन्य सम्पूर्ण सेवा बन्द छन् ।

धार्मिक रुपमा निकै नै महत्व बोकेको हरितालिका तीजमा बाहिर नगई घरभित्रै उपवास बसेर मनाउने तयारीमा रहेको बताउँछिन् वनस्थलीकी स्थानीय सीता परियार । विगतका वर्षमा दिदीबहिनीहरुलाई घरमै बोलाएर दर खुवाउनमा व्यस्त रहने उनले यस वर्ष भने कुनै तयारी गरेकी छैनन् । भन्छिन्, ‘दिदीबहिनी बिनाको तीजको के अर्थ ?’

त्यसो त उनको मनमा कोरोना लागिहाल्छ कि भन्ने भय नभएको होइन । जथाभावी चाडपर्व मनाउँदा झनै रोगको संक्रमण बढ्न सक्ने भन्दै सरकारले निषेधाज्ञा जारी गर्नु सकारात्मक रहेको उनको तर्क छ ।

उनी जस्तै यहाँकी ४० वर्षीय अर्की स्थानीय विद्या चापागाईं पनि सरकारले गरेको निर्णयप्रति सकारात्मक छिन् । विगत २५ वर्षदेखि तीज पर्व मनाउँदै आएकी उनी अहिलेसम्म पनि यस्तो स्थिति नआएको बताउँछिन् । विगतको तीज खर्चिलो भएको भन्दै उनले यस वर्ष खर्चको वचत भएको जानकारी दिइन् । ‘आफ्नै गल्तीले रोग लाग्न दिनुभन्दा सुरक्षित बस्नु धेरै नै उपयुक्त हो,’ उनी भन्छिन्, ‘रोगबाट बच्न सके अर्काे वर्ष पक्कै मनाउन पाइहालिन्छ नि !’

विगतका वर्षमा दिदीहरुसँग तीज मनाउँदै आएकी उनी कोरोनाले गर्दा यस वर्ष केही खल्लो महसुस भएको बताउँछिन् । भन्छिन्, ‘यो वर्ष त तीज आए जस्तै लागेको छैन ।’ ४५ वर्षीय अर्की स्थानीय साबित्री ढकालको अनुभव पनि उस्तै छ । विगतका वर्षमा दर खाने दिन किनमेल र पकाउनमा व्यस्त रहने उनले माइती जान नपाउनुको पीडा आफूभित्रै दबाउनुपरेको बताउँछिन् । तर सामाजिक सञ्जालबाट प्रत्येक्ष भिडियोमार्फत कुरा गर्न पाउँदा खिन्नता केही कम भएको उनले बताइन् ।

त्रिभुवन विश्वविद्यालय संस्कृति विभागका पूर्वप्रमुख डा. वीणा पौडेलले मन्दिर जान नपाए पनि घरभित्रै पूजाआराधना गरेर यस पर्वलाई मनाउन सकिने जानकारी दिइन् । ‘तीज पर्व हाम्रो मनोविज्ञानसँग सम्बन्धित रहेकाले कसरी मनाउने भन्ने हामीमा नै निर्भर रहन्छ,’ उनले भनिन् । विगतकोभन्दा यस वर्षको तीज केही फरक तर पछिका लागि अविष्मरणीय रहने उनको तर्क छ ।

यो पर्वमा विवाहित महिलाले श्रीमानको लामो आयुका लागि व्रत बस्ने गर्दछन् भने अविवाहित महिलाले भगवान् शिवजस्तै श्रीमान् पाउँ भने बस्दै आएका छन् । (रासस)

प्रकाशित समय १६:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु