गृहपृष्ठ समाचार प्रभाव : कार्कीको परिवारका लागि जुट्न थाल्यो सहयोग

समाचार प्रभाव : कार्कीको परिवारका लागि जुट्न थाल्यो सहयोग

इलामको माई नगरपालिकास्थित चिसापानीका रञ्जीत कार्कीको दुःखद् जीवन कहानी ‘जसलाई सुख भन्ने थाहै छैन’ शीर्षकमा समाचार प्रकाशन भएपछि सहयोग जुट्न थालेको छ । समाचारमा  कार्कीको टुहुरो जीवन कहानीसहित परिवारका तीन सदस्य बिरामी भएर आर्थिक समस्या भएको विषय प्रकाशन भएको थियो ।

समाचार प्रकाशनपछि हालसम्म दुई लाख ५५ हजार १२० रूपैयाँ सहयोग जुटेको छ । समाजसेवी अनिल तामाङले सहयोग जुटाएर बुधबार परिवारलाई हस्तान्तरण गरेका हुन् । सोही रकम  कान्छा छोरा अर्पणको उपचारमा लगाउने कार्कीले बताए ।

पिसाब नलीमा समस्या देखिएका अर्पणलाई केही दिनअघि मात्रै शल्यक्रियामार्फत उपचार गरेर घर ल्याइएको छ । अर्पणको पिसाब नलीमा ऐंजेरु पलाएको तथा पिप र रगत जान थालेपछि उपचारका लागि अस्पताल लगिएको थियो । आर्थिक स्थिति दयनीय भएका कार्कीका जेठा छोराको आँखाको र श्रीमतीको पाठेघरको शल्यक्रिया गरिएको छ । परिवारका तीन सदस्य बिरामी भएको तथा आफ्नो सम्पत्ति र जग्गासमेत नभएकाले कार्कीले सबै रकम सहयोगमार्फत जुटाउनुपर्ने छ । माई नगरपालिकाले पनि सहयोग उपलब्ध गराउने आश्वासन दिएको छ ।

कार्कीले सानै उमेरमा आमा गुमाउनु प‑यो भने बुवाले पनि छाडेर गएपछि एक्लै दुःख गरेर जीवन चलाउनु प‑यो ।  कार्कीका बाबुले छोरा होइन भनेपछि नागरिकता बनाउनबाट पनि उहाँ वञ्चित हुनुपरेको थियो । पछि छरछिमेकीको समन्वयमा नागरिकता बने पनि जग्गाजमिन नहुँदा उनी ऐलानी जग्गामा बस्न बाध्य छन् ।

विवाहपछि कार्कीकी श्रीमती उमालाई समेत माइतीले बोलाएका छैनन् । गरिबसँग विवाह गरेको भन्दै  माइतीले कराएपछि उमा माइतीको मायाबाट वञ्चित भएकी हुन् । (रासस)

प्रकाशित समय १३:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु