गृहपृष्ठ डडेल्धुराका किसान किवी खेतीतर्फ आकर्षित

डडेल्धुराका किसान किवी खेतीतर्फ आकर्षित

पछिल्लो समयमा डडेल्धुराका कृषकहरु व्यावसायिक किवी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । केही वर्षअघि तरकारी उत्पादन हुने खेतमा आजभोलि भने कृषकहरु किवी खेती गरेर मनग्य आम्दानी गर्न थालेका हुन् । किवी खेतीका लागि डडेल्धुरामा उपयुक्त वातावरण भएकाले कृषकहरु व्यावसायिकरूपमा किवी खेतीतर्फ आकर्षित हुन थालेका हुन् ।

डडेल्धुराको अमरगढी–२ का हिक्मत खडायतले नौ रोपनीभन्दा बढी जमिनमा किवी खेती गरिरहेका छन् । किविभन्दा अघि उनले सुन्तला, जुनार, कागतीजस्ता फलफूलको खेती गरे । डडेल्धुरामा किवी खेतीको राम्रो सम्भावना देखेर यो व्यवसायमा लागेको उनले बताए ।

करीब पाँच हजार बोट किवी लगाएका उनले प्रतिबोट ५०० रुपैयाँका दरले बिक्री गर्ने गरेको बताए । ‘बजारमा किवीको मूल्य र माग दुवै रहेको छ । किवी रोपेर नै पाँच जनाको परिवार पालिरहेको छु,’ उनले भने, ‘बेर्ना हुर्कन कम्तीमा पनि एक÷डेढ वर्ष लाग्छ । रोपेको करिब तीन वर्षदेखि ५०÷६० वर्षसम्म किवीले आम्दानी दिने गरेको सुनेको छु ।’ किवी खेतीबाटै घर खर्च कटाई वर्षिक एक÷दुई लाख रुपैयाँ बचत गर्ने गरेको उनले सुनाए ।

किवी खेती गर्दा समयको पनि बचत हुने र आम्दानी पनि मनग्य हुने भएपछि आफू पनि यस पेसातर्फ आकर्षित भएको अमरगढी–१ का गणेशबहादुर ऐरले बताए । सुरुमा पाँच लाख रुपैयाँ लगानी गरेर किवी खेती गरेका उनले छोराछोरीको पढाइ खर्चदेखि लिएर घर परिवारको जीविकोपार्जन पनि यसै पेसाबाट चलाइरहेको बताए । सात वर्षदेखि उनले किवी खेती गरिरहेका छन् ।

किवी खेती गर्नुभन्दा पहिले भारतमा गएर काम गर्ने गरेको उनको भनाइ छ । ‘किवी खेती गर्ने कुनै सोच थिएन । जिल्ला कृषि विकास कार्यालयले दोलखाबाट यो योजना लिएर जिल्लामा तालिम दियो । १०÷१२ जना हामी सहभागी थियौँ तर किवी खेती गर्न कसैले मानेन,’ उनले भने, ‘जिल्लामा पहिलो पटक मैले यो खेतीको सुरुवात गरेँ । सुरुमा १०० बोट लगाएँ । अहिले त जिल्लामा ३०÷४० किसान पुगिसके किवी खेती गर्ने ।’ गत वर्ष १६ क्विन्टल किवी फले पनि यो वर्ष ३० क्विन्टल फलाउने उनको अनुमान छ । किवी लगाएकै ठाउँमा तरकारी पनि लगाउन सकिने भएकोले मनग्य आम्दानी गरिरहेको उनले बताए ।

सुरुमा एक पटक लगानी गरेपछि ४०÷५० वर्षसम्म उत्पादन दिइरहने र बजारको समेत अभाव नहुने भएपछि किसान किवी खेतीतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्र डडेल्धुराका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले बताए । किवीखेतीका लागि मौसमअनुसार पनि डडेल्धरा जिल्ला उपयुक्त मानिने हुदाँ त्यसतर्फ बढी आकर्षित भई यो खेतीको थालनी भएको वरिष्ठ कृषि विकास अधिकृत विष्टले बताए । (रासस)

प्रकाशित समय १४:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु