गृहपृष्ठ तीज : संस्कार र संस्कृतिको पर्व

तीज : संस्कार र संस्कृतिको पर्व

आठार पुराणमध्ये एक पुराण स्कन्दपुराण, जसलाई श्री स्वस्थानी व्रतकथा भनिन्छ । स्वस्थानीमा वर्णन भएअनुसार दक्ष प्रजापतिको घरमा ठूलो धार्मिक यज्ञ लगाइएको थियो । नारद घुम्दै त्यहाँ पुग्छन् । श्री महादेव र सतीदेवीलाई यज्ञमा नदेखेपछि सरासर कैलाश पर्वतमा गएर दक्ष प्रजापतिको यज्ञको बारेमा सुनाउँछन् । साथै, यज्ञमा दक्ष प्रजापतिका २७ जना छोरीमध्ये २६ छोरीज्वाइँलाई देखेको तर हजुरहरूलाई नदेखेको कुरा सुनाउँछन् । त्यसपछि महादेवसँग जिद्धि गरेर गएकी सतीदेवी पतिका बारेमा आफ्नै बुवाले तथानाम भनेपछि सहन नसकेर देहत्याग गर्छिन् ।

त्यही बेलादेखि चेलीबेटीलाई अनिवार्य बोलाउने चलन चलिआएको विश्वास छ । सतीदेवीले भने हिमालय पर्वतकी श्रीमती मेनुकाको गर्वमा बास लिइन् । उनी पार्वती भएर जन्मिइन् । र, महादेव पति पाउन हरितालिका व्रत बसको स्कन्धपुराणमा वर्णन गरिएको छ । पुराणमा माइतीले जुनसुकै चाडपर्वमा पनि बोलाउनुपर्ने र श्रीमानको अपमान भएको सहन नसक्ने कुरा स्पष्ट पारिएको छ ।

तिहारपछि चेलीबेटी सम्झने मुख्य चाड तीज हो । ‘दसैं र तिहार म आफैं आउला तीजमा डाके है… ‘ भनेर गीत गाउने चलन पनि छ । त्यतिखेर अंकको ज्ञान वा आविष्कार नभएर होला वेदका ६ अंगमध्ये ज्योतिष विज्ञानमा दक्ष प्रजापतिका २७ छोरीका नामबाट २७ नक्षत्र जुराइयो र पछि ‘जो’ भन्ने शब्द बाँकी रह्यो । जुन शब्द अभिजित नक्षत्र बन्न पुग्यो ।

समग्रमा, तीज हिन्दू नारीको महान् चाड हो । यसपटक भाद्र प्रतिपदा र द्वितीय तिथि एकैदिन परेकाले बिहीबार दर खाइन्छ । दरको अर्थ अडिलो, मिठो र भोलि पल्टसम्म भोक नलाग्ने क्यालोरीयुक्त खाना खाने भन्ने बुझिन्छ ।

वि. सं. २०१९-२० सालतिर औलो (लामखुट्टेले सार्ने रोग)को डरले भित्री मधेस, तराईमा वैशाखदेखि असोज‑कात्तिकसम्म औलो उन्मूलन गर्न विषादी छर्ने काम भएकाले बाहिर हिँड्डुल गर्न प्रतिबन्ध लगाइएको हुन्थ्यो । यसपटक पनि ठीक त्यसैगरी कोरोनाभाइरसको कहरका कारण देश ठप्प छ । सबै धर्म, सम्प्रदाय र भूगोल कोरोनाबाट आक्रान्त छ । नजिकका केही चेलीबेटीबाहेक ‘ज्यू रहे घ्यू’ खान पाइन्छ भनेर कोही पनि माइती जान पाएका छैनन् । सरकारले पनि घरमै बस्नु भनेर उर्दी जारी गरिकेसेको छ । विज्ञानको चमत्कारले गर्दा इन्टरनेटको माध्यमबाट आफ्ना बा‑आमासँग चेलीबेटीले कुराकनी गरिरहन पाउँछन् । तर, भौतिक रुपमा भने नजिक हुन पाएका छैनन् । यो बाध्यतावश हाम्रो यो पुस्ताले भोगिरहेको छ ।

खासमा तीज नेपाली नारीको भव्य र सभ्य पर्व हो । तीजमै पर्ने ऋषिपञ्चमी पर्वमा वर्षभर जानीनजानी भएका पाप पखाल्न दतिवन, कुश, तुलसी, पत्र, जौ तिल आदिको प्रयोग गरी नजिकका जलाशयमा स्नान गरी नाचगान गर्दै घर फर्कने गरिन्छ । यो वर्ष भदौ ४ गते दर खाने, ५ गते व्रत बस्ने, ६ गते गणेश चौथी र ७ गते ऋषिपञ्चमी परेको छ । पञ्चमीको दिन माथि उल्लेख गरेको सामग्रीले नुहाएर सप्तऋषिको पूजा गर्ने गरिन्छ ।

घरमा आएर धेरैजसोले गाबा र भात खाने गर्छन् । गाबा भिटामिन ‘ए’ को स्रोत पनि हो । रजस्वला बन्द भएका महिलाले आफूले प्रयोग गर्ने शृंगारका सामान जोरजाम गरी पुरोहित बोलाएर पञ्चमी थन्क्याउने चलन पनि छ । वरिष्ठ पुरोहित तथा देवीघाट जेष्ठ नागरिक संरक्षण समितिका इन्चार्ज रामप्रसाद दाहाल कोही महिलाको रजस्वला भएका बखतमा मृत्यु भयो भने श्रीमानले पञ्चमी थन्क्याउने चलन गरेको बताउनुहुन्छ ।

तीज पर्व समाजको दर्पण पनि हो । ऐनामा जे हेर्‍यो, त्यो देखिएझैं आमा‑दिदीबहिनीहरुले यो पर्वमा समाजको यथार्थ चित्रण, सासूको खटनपटन श्रीमानले सौता हालेको, माया नगरेको जस्ता कुरालाई लोकभाकामा गाउँछन् ।

‘कहाँमा जान्छौ रानी चरी बगल बरी लै भगवानलाई भेटन

भगवानलाई भेट्न केको पावर चाहिन्छ बरी लै फूलपाती अक्षता ।

कहाँमा बस्छन् ती भगवान बरी लै चार कुने जगिय

तलामा चौकी माथिमा चँदुवा भगवान बीचैमा

तीजको चेली माइतमा आइछु के मागौं वरदान बरी लै के मागौँ वरदान

सारामा जगत् कल्याण हओस् यही माग्छु वरदान ।’

हिजोआज भने तीज संस्कृतिभन्दा बढी विकृत हुँदै गएको छ । तीजमा संस्कार र मनोरञ्जनभन्दा बढी व्यापार र छाडापन बढ्दै गएको पाइन्छ । तीज गीतमा विकृति भित्रिएका छन् । कोमल वलीको ‘पोइल जान पाम्… ‘, ‘यसपालिको तीजमा ढल्केर नाचिन्छ, बरु कम्मर भाँचे नि भाँचिन्छ… ‘, ‘मलाई त मनपर्‍यो तल्ला घरे ठुले… ‘ जस्ता तीज गीतले संस्कृतिभन्दा विकृति बोकेका छन् । दुर्गेश थापाको र्‍याप ‘बाँच्नुपर्छ कोरोना जितेर, लाइदेऊ सारी पोहोरकै झिकेर, माछो‑माछो भ्यागुतो यसपालिको तीज, एउटा फोटो खिच…’ ले केही सन्देश दिन खोजे पनि तीजको मर्ममा प्रहार गरेको पाइन्छ । यसले क्षणिक आनन्दबाहेक केही दिँदैन ।

तीर्थकुमारी खाती, हरिदेवी कोइराला, सावित्री साह, बिमाकुमारी दुरा, सावित्री साह, माया गुरुङ जस्ता गायिकाले गाएका पुराना तीज गीत मार्मिक, सभ्य र शब्द संयोजनले गहन छन् । जनसहभागिता आधारभूत विद्यालयका सहायक प्राचार्य महेन्द्रबहादुर पुडासैनी हिजोआजका भन्दा विगतका  तीज गीत अब्बल रहेको बताउनुहुन्छ ।

अन्त्यमा, तीजसम्बन्धी यो छोटो लेखमा समग्र कुरा समेट्न नसके पनि तीज हाम्रो आधा आकाश बोक्ने महत्वपूर्ण  पर्व हो । नेपाल लगायत विश्वमा रहेका हिन्दू महिलाले यो पर्व मनाउँछन् । तीज पर्वका कारण नेपाल र नेपालीको संस्कृति जीवन्त छ । नारी बिनाको संसार र पुरुष बिनाको पौरख कल्पना गर्न सकिँदैन । यति हो तीजलाई सभ्य बनाउनुपर्छ । तीजमा गाइने केही गीतका केही अंश पाठकहरुमाझ प्रस्तुत गर्न चाहन्छु :

१) लेक फुल्यो लालीगुराँस बेँसी फुल्यो टुनी बरी लै

जनमै किन हेपिएको यो छोरी को जुनी बरी लै

२) पढाइदिए हामी पनि आईए बिए पढ्नेछौं

छोराले झैं छोरी पनि अघि बढ्नेछौं

३) अंग्रेजीमा माग्नुभयो स्वामीजीले वाटर

नचिनेर दिए मैले काँचो कटहर

४) हंगेरीको संसदमा महिलाको बहुमत

नेपालमा नि हामीहरू गर्छौं कसरत

(देवीघाट)

(फाइल तस्बिरहरू)

प्रकाशित समय १५:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु