गृहपृष्ठ हरितालिका तीजमा सुनको कारोबार शून्य

हरितालिका तीजमा सुनको कारोबार शून्य

‘विगतका वर्षहरुमा तीजको बेला दैनिक ४० किलोसम्म सुन बिक्थ्यो’

हिन्दु नारीहरुको महान चाड हरितालिका तीजका बेला यो वर्ष भने सुनचाँदी पसलहरु सुनसान देखिए । बुधबारसम्म गरगहना पसलहरुमा दैनिक दुई‑चार जनाको मात्र आवतजावत देखियो । बिहीबार ‘तीजको दर खाने दिन’ निषेधाज्ञा नै जारी भयो ।

विगतका वर्षहरुमा प्रायः न्युरोड, पुतली सडक, दरबारमार्ग, नयाँ बानेश्वरलगायतका सुन पसलमा किनबेच गर्नेको घुइँचो हुन्थ्यो । तीजको आसपासमा मात्रै चार‑पाँच क्विन्टल हाराहारीसम्म सुनको कारोबार हुन्थ्यो । व्यवसायीलाई पनि गहनाको अर्डर लिन भ्याइनभ्याई हुन्थ्यो । गहना बनाउन भारतबाट कालिगढलाई बोलाउनुपर्थ्यो । तर, यो वर्ष कोरोनाभाइरस संक्रमणका कारण चहलपहल ठप्प भएपछि तीजमा पनि सुनचाँदीको कारोबार सेलाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्य भन्छन्, ‘विगतका वर्षहरुमा सुनको कारोबारमा सहरिया महिलाहरुबीच प्रतिस्पर्धा नै चल्थ्यो । दैनिकजसो गहना बनाउनकै लागि पसलहरुमा थामिनसक्नु घुइँचो हुन्थ्यो । सुनको मूल्य पनि मध्यम खालकै हुन्थ्यो । यो वर्ष कोरोनाभाइरसकै कारण सुनको भाउ अत्यधिक बढेपछि कारोबार शून्य झरेको हो । सुनको खरिद‑बिक्रीका लागि ग्राहक आउने त कुरै भएन ।’

गएको हप्ता २३ साउनमा सुनको मूल्य प्रतितोला एक लाख तीन हजार पाँच सय पुगेर रेकर्ड नै बनाएको थियो । बिहीबार नै तेजाबी सुनको मूल्य तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । एकैदिनमा १६ सयले घटेर ९८ हजारमा पुगेको हो । बुधबार पनि छापावाला सुनको मूल्य तोलाको एक लाख चार सय रुपैयाँ थियो । निरन्तर सुनको मूल्यमा उतारचढाव आएपछि गहनाको किनबेच ठप्प भएको शाक्यले बताए ।

एक किलो कारोबार पनि सुक्यो

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण चैत ११ गतेदेखि नै लकडाउन भएपछि सुनचाँदीको कारोबार सुस्ताउँदै गयो । कतिपय पसलहरु लकडाउन खुले पनि बन्द नै रहे । खुलेका पसलमा पनि ग्राहक आएनन् । कोभिड संक्रमित भेटिएसँगै न्युरोड, विशाल बजार र इन्द्रचोकका पसलहरू तीजको मुखमा पनि खुलेनन् । लकडाउन खुलेपछि दैनिक एक किलोको हाराहारीमा किनबेच भइरहेको सुन फेरि सरकारले निषेधाज्ञापछि जारी गरेपछि शून्यमा झरेको छ ।

चाडपर्व नजिकिँदै जाँदा धमाधम गरगहनाको अर्डर आउनुपर्ने बेलामा कारोबार नै शून्यमा झरेको शाक्यले बताए । ‘अघिल्ला वर्षहरूमा तीज तथा अन्य पर्वमा दैनिक ४०‑४५ किलोसम्म सुनको कारोबार हुन्थ्यो । २०७२ वैशाख १२ को महाभूकम्पअघि त दैनिक ६० किलोसम्म सुन किनबेच हुन्थ्यो । तर, यो वर्ष मुस्किलले एक किलोको हाराहारीमा किनबेच भइरहेको थियो । थपिएको निषेधाज्ञाले शून्यमा पुगेको छ,’ उनले भने ।

सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनार चाङका चाङ सुन पसल भएका व्यवसायी अहिले पहेँलो धातु देख्नेबित्तिकै तर्सिनुपर्ने अवस्थामा पुगेको बताउँछन् ।

सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार सुनार चाङका चाङ सुन पसल भएका व्यवसायी अहिले पहेँलो धातु देख्नेबित्तिकै तर्सिनुपर्ने अवस्थामा पुगेको बताउँछन् । ‘व्यापार ठप्प भएपछि बैंकको कर्जा र किस्ता कसरी तिर्ने, घरखर्च कसरी चलाउने भन्ने चिन्ताले गाँजेको छ,’ उनले भने, ‘लगातार सुनको भाउ बढेपछि गरगहना किनबेच गर्नेहरुको ओइरो नै लाग्ने अनुमान गरेका थियौं तर उपभोक्ता नै आएनन् ।’

 

ग्राहकले बरु बेच्न खोजे

कोरोनाभाइरसका कारण लामो समय लकडाउन भएर दुई महिना बजार खुल्यो । दुई महिनामा सुनको कारोबार एकदमै कम भयो, त्यो पनि एकतर्फी जस्तै । सुनको भाउ धेरै बढेपछि किन्नेभन्दा बिक्री गर्न आउने ग्राहक देखिए । तर, कोभिड संक्रमित बढ्दै गएपछि बिक्री गर्न आउने पनि घटिरहेको पूर्वअध्यक्ष शाक्य बताउँछन् । ‘धेरै पसल बन्द भइसकेकाले पनि मान्छेले पुराना गहना बिक्री गर्न पाएका छैनन् । कतिपयले अझै मूल्य बढ्ला र पुराना गहना बिक्री गरौँला भनेर कुरिरहेका छन्,’ उनी भन्छन् ।

उनका अनुसार बुधबारसम्म सुन किन्न आउनेभन्दा बिक्री गर्नेहरू अलि बढी नै थिए । ‘मूल्य चर्किंदै गएपछि आफूसँग भएको गहना बिक्री गर्ने तर किन्नका लागि भने चासो देखिएन । बिहीबारबाट त बन्द नै भयो,’ शाक्य भन्छन्, ‘तीजका बेलामा गहना बनाउने अधिकांश कालिगढ भारतीय हुन् । लकडाउन भएपछि गएका उनीहरू अझै फर्किएका छैनन् । उपभोक्ताले गहना किन्न चाहे पनि डिजाइन छनोट गर्न नपाउने स्थिति छ, त्यसकारण पनि ग्राहक घटेको हुनसक्ने अनुमान लगाएका छौं ।’

कसरी भयो सुनको कारोबार शून्य ?

कोरोनाको कहरमा सुनचाँदीको कारोबार शून्य हुनुमा व्यवसायी दुईटा कारण देख्छन् । सुनको भाउ अत्यधिक बढ्नु र उपभोक्ताको क्रयशक्ति घट्नुले कारोबार शून्य भएको उनीहरुको बुझाइ छ । सरकारले कोरोना नियन्त्रणका लागि लकडाउन गरेसँगै धेरैलाई छाक टार्न नै मुस्किल भयो । कतिपयले कम तलबमा काम गरे त कतिले समयमा तलब नै पाएनन् । त्यस्तै कारणले नै सुनको कारोबार घटेको व्यवसायीको अनुमान छ ।

पूर्वअध्यक्ष शाक्य भन्छन्, ‘अघिल्ला वर्षहरुको तुलनामा यो वर्ष ५‑१० प्रतिशत पनि कारोबार भएन । सरकारले कोभिड संक्रमित बढ्दै गएपछि लगाएको निषेधाज्ञापछि तीजमा दर खाने कार्यक्रम पनि भएनन् । कार्यक्रम भएपछि पार्टी प्यालेसहरु बुकिङ हुन्थ्ये । महिलाहरुको ठूलो संख्यामा जमघट हुन्थ्यो । त्यसका लागि पनि सहरिया महिलाले त झनै खर्च गरेर विभिन्न डिजाइनका गरगहना बनाउँथे, यसपटक त्यस्तो भएन । त्यसैले पनि कारोबार शून्यमा झरेको हो ।’

लकडाउनपछि ठप्प न्युरोड ।

निरन्तर उकालो लागेको सूनको मूल्य अझै बढ्ने संकेत देखिएको छ । राष्ट्र बैंकको आंकडाअनुसार गत वर्षको ११ महिनामा ३१ अर्ब रुपैयाँबराबरको सुन आयात भएको थियो । त्यो पनि असारमै सकिएको थियो । गत आवमा ५६ प्रतिशतले घटेर १३ अर्बमा झरेको छ । एकातिर कोरोनाले आर्थिक मन्दी भएका बेला लगानीकर्ता सुनमा आकर्षित भए भने अर्कोतिर चीन र अमेरिकाबीच चर्किएको तनाव तथा अमेरिकी केन्द्रीय बैंकले घटाएको ब्याजदरका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ उकालो लाग्दा नेपालको बजार प्रभावित भएको पूर्वअध्यक्ष शाक्य बताउँछन् ।

बैंकको सुन भने बिक्री

कोभिड १९ कै कारण बजारमा सुनचाँदीको कारोबार शून्य भए पनि वाणिज्य बैंकहरुले भने बिक्री गरेका छन् । गत हप्तामात्र बैंकबाट ७५ किलो सुन बिक्री भएको नेपाल बैंकर्स संघले जनाएको छ । अघिल्लो हप्तामा पनि एक क्विन्टल हाराहारीमा सुन बिक्री भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष शाक्य प्रश्न गर्छन्‑ बजारमा गहना किनबेच ठप्प हुँदा बैंकबाट कसले सुन उठायो ? ‘अहिले बैंकबाट बिक्री भएको भनिएको सुन गहना बनाउनका लागि हो तर गहनाका लागि कोही पनि आएको छैन । बैंकहरुले कहाँ बेचे सुन ?’ उनले आश्यर्च माने ।

राष्ट्र बैंकले १९ चैतमा दैनिक १० किलो मात्र सुन आयात तथा बिक्रीको कोटा छुट्याइदिएको छ । त्यसअघि भने बैंकले दैनिक २० किलोसम्म सुन आयात तथा बिक्री गर्न पाउँथे । नेपालमा ‘क’ वर्गका वाणिज्य बैंकहरूले राष्ट्र बैंकले तोकेको कोटाभित्र रहेर सुन आयात तथा बिक्री गर्न पाउँछन् । भोलि मूल्य बढ्दै जाँदा फाइदा हुने अनुमानमा सुन किनबेच भएको हुनसक्ने जानकारहरु बताउँछन् । उनीहरुका अनुसार लकडाउनको अवधिमा सुन बिक्री भइरहेको थिएन । लकडाउन आंशिक रूपमा खुकुलो भएपछि हप्ता दिनमै एक क्विन्टलसम्म बिक्री भएको छ, जसमा उपभोक्ताले सुनको मूल्य अझै बढ्न सक्ने सोचका साथ खरिद गरेको उनीहरु बताउँछन् ।

प्रकाशित समय १४:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु