गृहपृष्ठ जंगली जनावरको आतंक : दिउँसो बाँदर, राति बँदेल र दुम्सी, किसान चिन्तित

जंगली जनावरको आतंक : दिउँसो बाँदर, राति बँदेल र दुम्सी, किसान चिन्तित

फाइल तस्बिर

बैतडीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा जंगली जनावरले आतंक मच्चाएका छन् । विगतका वर्षमा जस्तै बैतडी, दार्चुला, डडेल्धुरा, बझाङलगायत पहाडी जिल्लामा जंगली जनावरले आतंक मच्चाएका हुन् । दिनमा बाँदर, रातिको समयमा जंगली बँदेल, दुम्सीलगायत जंली जनावरले अन्नबाली र तरकारी नष्ट गर्दा किसान आतंकित भएका छन् ।

जंगली जनावर धपाउन रातदिन जाग्राम बस्नुपरेको दोगडाकेदार ७ चडेपानीका केशव भट्टले बताए । उनले भने, ‘रातभर जाग्राम बसे पनि जङ्गली जनावरले मकैबालीमा ब्यापक क्षति पुर्‍याएको छ ।’ जंगली जनावर धपाउन रातभर मकैबारीमै बस्ने गरेका दोगडाकेदार–३ का स्थानीय प्रकाश चन्दले जानकारी दिए । जंगली जनावर धपाउनकै लागि जाग्राम बस्नुपरेको छ ।

जंगली बँदेलले मकैबाली नष्ट गरेपछि भोकमरी हुने चिन्ता बढेको छ । मकैबाली जोगाउनकै लागि बाजागाजा बजाउने गरेको सूर्नया गाउँपालिका–७ का केशव बिसीले बताए । उनले भने, ‘विभिन्न रोग कीराबाट बचाएर पसाउन लागेको मकैबाली जंगली जनावरले नष्ट गर्ने गरेको छ ।’

जंगली जनावरले किसानको अन्नबाली तथा तरकारी नष्ट गर्न थालेपछि बैतडीका किसान चिन्तित बनेका छन् । यस्तै दार्चुलाको शैल्यशिखरमा पनि जंगली जनावरले आतंक मच्चाउन थालेको गंगासागर जोशीले बताए । डडेल्धुराको भागेश्वर गाउँपालिका–३ सतिगाउँमा पनि जंगली बँदेलले मकैबाली सखाप पारेको किसानले बताएका छन् ।

मकैबाली जोगाउनका लागि रातभर बारीमै पहरा दिने गरिएको भागेश्वरबाट अशोक भट्टले जानकारी दिए । उनले भने, ‘अन्नबाली र तरकारीमा जंगली जनावरले वर्षेनी क्षति पुर्‍याउँदै आएको भए पनि स्थानीय तहले कुनै पहल गरेको छैन ।’

जंगली जनावर नियन्त्रणका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने किसानको माग रहेको छ । फौजी कीरा र फेदकटुवा कीराले अन्नबाली नष्ट गरेकोमा बँदेललगायतका जंगली जनावरले अन्नबाली खाइदिँदा किसान भोकमरी हुने भन्दै चिन्तामा परेका छन् ।

राहत पाउँदैनन् किसान

प्रत्येक वर्ष बालीनालीमा क्षति हुँदै आएको भए पनि राहत तथा क्षतिपूर्ति पाउन नसकेको किसानले बताएका छन् । खास गरेर बर्खेबालीमा जंगली बँदेल, दुम्सीलगायत जनावरले क्षति पुर्‍याउने गरेका हुन् । स्थानीय सरकारले पनि बालीनाली जोगाउन कुनै पनि किसिमको योजना ल्याउन सकेका छैनन् । किसानहरुले वर्षेनी बालीनालीमा क्षति बेहोर्दा सरकारले केही राहत नदिएको किसानले गुनासो गरेका छन् ।

बालीनालीमा क्षति हुने गरेको भए पनि कतैबाट क्षति पाउन नसकेको दशरथचन्द नगरपालिका–१ का किसान वीरबहादुर टेरले बताए । उनले बताए, ‘प्रत्येक वर्ष मकैबालीमा क्षति हुने गरेको भए पनि सरकारी निकायबाट कुनै किसिमको क्षतिपूर्ति पाउन सकेको छैन ।’

जंगली जनावरले बालीनाली नष्ट गरेमा क्षतिपूर्ति दिने प्रावधान नरहेको मकै जोन कार्यालय बैतडीका प्रमुख हरिप्रसाद पनेरुले बताए । उनले भने, ‘जिल्लाभरी मकैबालीमा क्षति पुुर्‍याएको भए पनि क्षतिपूर्ति दिने प्रावधान रहेको छैन ।’ बैतडी मकैको पकेट क्षेत्र भए पनि पकेट क्षेत्रमै मकैबालीमा क्षति भएपछि किसान हैरान भएका छन् । जिल्लाको सूर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, पाटन नगरपालिका र दशरथचन्द नगरपालिकालाई मकै पकेट क्षेत्रको रुपमा तोकिएको छ ।

यी क्षेत्रहरुमा मकै उत्पादन वृद्धि र प्रशोधनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएका भए पनि जंगली जनावरबाट मकैबाली जोगाउन धौ धौ भएको किसानले बताएका छन् । मकै जोन कार्यालयले बीउविजन र केही प्राविधिक सहयोग गरेको भए पनि जंगली जनावरबाट हुने क्षति न्यूनीकरणका विषयमा केही नगरेको किसानको गुनासो छ । (बिनोदसिं बिष्ट/रासस)

प्रकाशित समय ०८:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु