गृहपृष्ठ महाकाली पुल निर्माण धमाधम, पूरा हुँदै चाँदनी-दोधरावासीको सपना
महाकाली पुल निर्माण धमाधम, पूरा हुँदै चाँदनी-दोधरावासीको सपना
सुदूरपश्चिम प्रदेश र मुलुककै समृद्धिसँग सरोकार राख्ने महाकाली नदीमा निर्माणाधीन ४ लेन पुलको कामले तीव्रता पाएको छ । कोरोना महामारीका कारण केही महिना पुल निर्माण कार्य रोकिए पनि अहिले भने काम सुचारु भइसकेको छ ।
महाकाली नदीपारी रहेको स्थानीय तह महाकाली नगरपालिका दोधरा चाँदनीमा बन्ने भनिएको सुख्खा बन्दरगाहले पनि यस क्षेत्रको कायापलट हुने अपेक्षा गरिएको छ । साथै यो ४ लेन पुलले नेपाल-भारतबीचको व्यापारमा समेत सहज हुनेमा सुदूरपश्चिमवासी आशावादी छन् । कञ्चनपुरस्थित महाकाली नदीमा रहेको दोधरा चाँदनी झोलुङ्गे पुलनजिकै भीमदत्त नगरपालिका- १२ ओदालीमा बन्न लागेको उक्त ४ लेन पुल अबको एक वर्षभित्र निर्माण सम्पन्न भइसक्ने बताइएको छ ।
३ वर्ष म्याद लिएर २०७४ भदौमा निर्माण थालेको कुमार/सीएसइसी जेभीले पुलको काम ६५ प्रतिशत सम्पन्न भइसकेको जनाएको छ । ८ सय मिटर लम्बाई पुल र ७ दशमलव ८ किलोमिटर बाटोसहित ३ अर्ब २७ करोड रुपैयाँ लागतमा सो आयोजनाको टेण्डर भएको थियो । सम्झौताअनुसार पुल निर्माणको समय भने भदौ ७ गते सकिँदैछ ।
मुआब्जा विवादका कारण पुल निर्माणमा समस्या आएपछि १८ महिना कम्पनीलाई निर्माणको म्याद थपिएको छ । हाल पुल निर्माण कार्यले तीव्रता पाएकाले अबको १ वर्षभित्र निर्माण सम्पन्न हुने निर्माण कम्पनीका इन्जिनियर किशोर राज पाण्डेयले दावी गरे ।

महाकालीवारि र पारि ६०० मिटर लम्बाइका दुईवटा पक्की पुल पनि निर्माण हुनेछन् । निर्माणस्थलमा पर्यटकलाई आकर्षित गर्न पोखरी र वनभोजस्थल निर्माण गर्ने योजना छ । अहिले पक्की पुल निर्माण हुन लागेको ठाउँदेखि दोधारा-चाँदनीको झोलुङ्गे पुल अढाइ किलोमिटर दक्षिणतर्फ पर्छ । यो पुल निर्माण भएसँगै पर्यटकको आवागमन बढ्नुका साथै दुई देशबीचको व्यापार व्यवसायमा निकै सहज हुने कञ्चनपुरका पर्यटन व्यवसायी पर्मानन्द भण्डारी बताउँछन् ।
पुल निर्माणपछि कञ्चनपुर नेपाल-भारतको महत्वपूर्ण व्यापारिक नाकाका रुपमा विकसित हुनेछ । यहाँ अहिले सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया अघि बढाइएको छ । हाल भारतमा आवत–जावत गर्न सारदरा ब्यारेज भएर जानुपर्ने र सो ब्यारेजको ढोका दिनमा दुई घण्टा मात्रै खुल्ने गरेको छ । यसले गर्दा भारतबाट आयात हुने वस्तु त्रिनगर तथा वीरगन्ज नाका भएर भित्र्याउनुपर्ने बाध्यता छ । यस पुलले सुदूरपश्चिम मात्रै नभई नेपाल-भारत दुई देशको व्यापार प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दिनेशराज भण्डारीको विश्वास छ । यस पुलले सिधै दिल्लीसँग जोड्ने हुँदा पर्यटनसँगै व्यवसायिक विकासमा कोल्टे फेर्ने कैलालीका पर्यटन व्यवसायी प्रकाश भट्ट बताउँछन् ।
२०६१ सालमा महाकालीमा झोलुङ्गे पुल बनेसँगै यहाँका बासिन्दालाई आवागमनमा सहजता भएको हो । पक्की पुल बनेपछि भारतसँगको परनिर्भरता घट्ने दोधारा-चाँदनीका बासिन्दा बताउँछन् । पक्की पुलले दोधारा-चाँदनीका करिब ५० हजार स्थानीयलाई सदरमुकाम महेन्द्रनगरसँग जोड्नेछ ।


प्रकाशित समय १९:३७ बजे

















