गृहपृष्ठ गान्धीको चस्मा तीन लाख ४० हजार डलरमा बिक्री
गान्धीको चस्मा तीन लाख ४० हजार डलरमा बिक्री
भारतीय स्वतन्त्रताका नायक महात्मा गान्धीले लगाएको सुनौलो चस्मा तीन लाख ४० हजार अमेरिकी डलरमा बेलायतमा बिक्री भएको लिलामसम्बन्धी काम गर्ने एउटा फर्मले जानकारी गराएको छ ।
‘इस्ट ब्रिस्टल अक्सन’ नामक उक्त फर्मले शुक्रबार चस्मा विक्री भएपछि इन्स्टाग्राममा लेखेको छ,’एक भद्र व्यक्तिले आफ्नो काकालाई गान्धी आफैँले उक्त चस्मा दिएको भन्दै लिलामका लागि हामीलाई चारहप्ता पहिले उपलब्ध भएको थियो ।’ फर्मले प्रक्रियामा सहभागीलाई सम्बोधन गर्दै भन्यो, ‘एउटा अविश्वसनीय वस्तुको लागि असाधारण परिणाम ! लिलाम प्रक्रियामा सहभागी सबैलाई धन्यवाद ।’
गान्धीले पुरानो वा अनावश्यक सामान (चस्मा) खाँचो हुनेहरूका लागि वा आफूलाई सहयोग पुर्याउने व्यक्तिलाई दिने गरेको बताइएको छ । सन् १९२० वा ३० को दशकमा दक्षिण अफ्रिकामा बेलायती पेट्रोलियम पदार्थको कारोबार गरिरहेको समय अहिंसावादी गान्धीले विक्रेता काकालाई चस्मा दिएको ती लिलामकर्ता व्यक्तिले फर्मलाई बताएका बुझिएको छ ।
बिक्री मूल्य १५ हजार पाउण्ड स्टर्लिङ वरिपरी हुने अनुमान गरिएको थियो तर चस्माको मूल्य अपेक्षाभन्दा निकै गुणा बढी अर्थात् दुई लाख ६० हजार पाउण्ड स्टर्लिङ परेको छ । लिलामकर्ता एन्ड्रयू स्टोभले यस महिनाको सुरूमा यसबारे चर्चा गरेको र ‘यदि चश्मा राम्रो नभएमा फ्याँक्न भनेको बताइएको छ ।
चस्माको मुल्य १५ हजार पाउण्ड पर्ने दावी गरेपछि त्यो दावीले उसलाई झस्काएको थियो । ‘मैले सोचेँ यो असम्भव छ,’ फर्मका एक सदस्यले बताए । (रासस)
प्रकाशित समय १९:०० बजे

















