गृहपृष्ठ उपचार खर्च तिर्न नसक्दा आमाबुवा अस्पतालमा बन्धक, नाबालक छोराछोरीको घरमा बिजोग
उपचार खर्च तिर्न नसक्दा आमाबुवा अस्पतालमा बन्धक, नाबालक छोराछोरीको घरमा बिजोग
उपचारमा लागेको खर्च तिर्न नसक्दा विराटनगरको एक अस्पतालमा श्रीमान–श्रीमती बन्धक भएका छन् । अग्निसाइर कृष्णसवरन गाउँपालिका ६ बकधुवाका भुटाइ भनिने शिवचन्द्र सदा र उनकी श्रीमती मलिया उपचार खर्च तिर्न नसक्दा बन्धक बन्नुपरेको हो ।
खोलाछेउको ऐलानी जमिनमा घर बनाएर बसेका भूमिहीन दलित मुसहर समुदायका दम्पतिसँग उपचार खर्च छैन । कुटपिट गर्ने आरोपितले खर्च नतिर्दा र अस्पतालले खर्च नलिई घर फर्किन नदिँदा सदा दम्पति अस्पतालमा रोकिएका हुन् ।
शिवचन्द्रका भाइ पवन सदाले सोमबार प्रदेश २ का मुख्यमन्त्री, मानव अधिकार आयोग, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सप्तरीका प्रमुख जिल्ला अधिकारीसमक्ष न्याय तथा उपचार खर्चका लागि सहयोग मागेका छन् । दलित सरोकार मञ्च नेपालको सहयोगमा अनलाइनमार्फत उजुरी गरिएको मञ्चका भोला पासवानले बताए ।
वर्षातको समयमा दिना साहले बगाएको घरको पानीले सदाको झुपडी डुबानमा परेपछि सदा दम्पतिले जथाभावी माटो काट्ने काम नगर्न अनुरोध गर्दा साह परिवारले कुटपिट गरेर घाइते बनाएको शिवचन्द्रले आरोप लगाए । कुटपिटबाट घाइते सदा दम्पति उपचारका लागि सुरुमा स्थानीय क्लिनिक पुगे । स्थानीय क्लिनिकले अस्पताल लैजान सुझाएपछि उनीहरू थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल भर्ना भए ।
इलाका प्रहरी कार्यालय कञ्चनरूपले आरोपित दिना साहलाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलायो । तीन सातापछि साउन ३२ गते जिल्ला सरकारी वकिलको कार्यालयको पत्रअनुसार साह रिहा भए । उपचार खर्च आरोपितले व्यहोर्ने आशामा बसेका सदा दम्पतिले खर्च भर्न नसक्दा अस्पतालले रोकेर राखेको छ । शिवचन्द्रका अनुसार अस्पतालले उनीहरूलाई बाहिर निक्लिन नदिन सुरक्षा गार्ड खटाएको छ।
इलाका प्रहरी कार्यालय कञ्चनरूप सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले पीडित पक्षले अस्पतालमा लागेको खर्चको बिल ल्याउन नसकेकाले आरोपितबाट उपचार खर्च तिराउन समस्या भएको बताएका छन् । प्रहरीले बिल ल्याउन भने पनि अस्पतालले पैसा नतिरी बिल दिन नसकिने जनाउँदै आएको छ ।
दलित अगुवा बलराम सदाले धेरै आग्रह गरेपछि अस्पताल प्रशासनबाट लेटरप्याडमा साउन ३२ गतेसम्ममा औषधीबाहेक एक लाख २५ हजार ८०० रुपैयाँ खर्च भएको लेखेर दिएको जानकारी दिए । अस्पतालमा बसेको दिन थपिँदै जाँदा खर्च पनि थपिँदै जाने अस्पतालका प्रबन्धक ज्याउल हकले बताएका छन् । हकले भने, ‘उपचार गर्दासम्म हामीले पैसा मागेनौँ, अब उपचारपछि भएको खर्च त दिनुपर्यो नि !’
आरोपितले खर्च नतिरेपछि अस्पतालबाट बाहिर निक्लिन नपाएर चिन्तित बनेकी मलियादेवीले रुँदै भनिन्, ‘यता हामी बन्धक भयौँ, उता घरमा तीन नाबालक छोराको बिजोग छ, उनीहरू खान नपाएर भोकै हामीलाई पर्खेर बसेका होलान् ।’ (रासस)
प्रकाशित समय ०७:४९ बजे

















