गृहपृष्ठ उपल्लो डोल्पाका किसानको बिजोग : चार महिना खडेरीपछि असिनापानी

उपल्लो डोल्पाका किसानको बिजोग : चार महिना खडेरीपछि असिनापानी

दुई दिनदेखि परेको असिनापानीका कारण डोल्पा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाको शे-फोक्सुण्डो गाउँपालिकामा कृषकले लगाएको अन्नबाली र विकास योजनामा व्यापक क्षति पुगेको छ ।

असिनापानीका कारण सो गाउँपालिकाको वडा नं एकदेखि चारसम्म कृषकले लगाएको गहुँ, उवा, फापरलगायत अन्नबालीमा ८० प्रतिशतभन्दा बढी क्षति पुगेको वडा नं ४ का अध्यक्ष पेमावाङ्छेन गुरुङले बताए । उनले भने, ‘तीन/चार महिनाको लामो खडेरीपछि परेको असिना पानीले गर्दा यहाँका फापर, गहुँ, उवालगायत अन्नबालीमा क्षति पुगेपछि कमाइको मुख्य स्रोतमै असर परेको छ ।’

वर्षभरि खानका लागि लगाइएको अन्नबालीमा क्षति पुगेपछि यहाँका बासिन्दामा भोकमरीको सम्भावना बढेको छ । ‘यो वर्ष यार्सागुम्बा पनि टिप्न पाइएन्, अन्नबाली पनि सबै सखाप पार्‍यो, जिविकोपार्जन कसरी गर्ने भन्ने ठूलो पीर परेको छ,’ वडाध्यक्ष गुरुङले भने ।

सोही वडाका किसान तेन्जिन टासी गुरुङले असिना र पानीले आफ्नो चारवटा खेतमा लगाइएको उवा फापर सबै सखाप पारेको बताए । उनले भने, ‘कोरोना भाइरसका कारण आय आर्जनका सबै बाटो बन्द भएकाले जीवन गुजारा गर्ने भनेकै अन्नबालीले हो, त्यो पनि सबै सखाप पारिसक्यो, अब कसरी आफू र आफ्ना परिवार पाल्ने ठूलो चिन्ता परेको छ ।’ उनले क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरे ।

विकास निर्माणमा क्षति

दुई दिनदेखि लगातार परेको असिना पानीका कारण आएको बाढीले वडा नं एकदेखि चारसम्मको विकास योजनामा ठूलो क्षति पुर्‍याएको शे-फोक्सुण्डो गाउँपालिकाले जनाएको छ ।

ती वडामा संघ, प्रदेश र स्थानीय सरकारद्वारा निर्मित पर्यटन तथा ग्रामीण सडक, पुलपुलेसा र सिँचाइ कुलोमा क्षति पुर्‍याएको वडाध्यक्ष गुरुङले जानकारी दिए । बाढीले केही सडक र पुल भत्काएपछि आवतजावतमा समेत समस्या भएको उनले भने । केही ठाउँमा किसानको पशुचौपायासमेत बगाएको उनले जानकारी दिए ।

असिनापानीबाट भएको क्षतिको विस्तृत विवरण संकलन कार्य भइरहेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित समय १५:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु