गृहपृष्ठ दुई महिनामै बैंकिङ क्षेत्रमा विद्युतीय कारोबारमा दोब्बर वृद्धि
दुई महिनामै बैंकिङ क्षेत्रमा विद्युतीय कारोबारमा दोब्बर वृद्धि
कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले चैत ११ गतेदेखि लगाएको १२० दिने लकडाउनका कारण समग्र आर्थिक गतिविधि ठप्प भइरहँदा विद्युतीय भुक्तानी कारोबार भने दोब्बरभन्दा बढी वृद्धि भएको छ । भुक्तानी रकम र कारोबार संख्या दुवै हिसाबले विद्युतीय कारोबार बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
कोरोनाको सम्भावित जोखिमबाट बच्न उपभोक्ताले विद्युतीय कारोबारलाई प्राथमिकता दिएका छन् । यसले बैंकहरूको लागतमात्र घटाएको छैन, महामारीका बीच सानो संख्यामा आलोपालो गरी कर्मचारी खटाउन सहज पनि भएको छ । महामारीका बेला बैंक र ग्राहकबीच सम्बन्ध जोडिरहन बैंकहरूले विद्युतीय भुक्तानीमा प्राथमिकता दिएको नेपाल बैंकर संघका अध्यक्ष एवं सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भुवन दाहाल बताउँछन् ।
उपभोक्ताले पनि डिजिटल भुक्तानीमा ध्यान दिँदा सेवा प्रवाह सहज ढंगले अघि बढेको उनले बताए । जुनसुकै बैंकका एटिएम जुनसुकै बैंकमा चल्ने व्यवस्था भएकादे एटिएमको कारोबार अझ धेरै भएको हुनसक्ने उनले बताए । ‘यसलाई नियमित बनाउन राष्ट्र बैंकले नीतिगत रुपमा सहजीकरण गरिदिनुपर्छ,’ उनले भने, ‘राष्ट्र बैंकले विभिन्न शीर्षकमा बैंकहरूले लिने शुल्कमा कडाइ गरिरहेकाले आम्दानीका कुनै बाटा बन्द गर्दा अरु बाटाहरू सहज बनाइदिए यसमा कुनै समस्या छैन ।’
सानिमा बैंकले विभिन्न स्किमहरू ल्याएर ग्राहकलाई विद्युतीय भुक्तानीका लागि अभिप्रेरित गरिरहेको छ ।
सानिमा बैंकले विभिन्न स्किमहरू ल्याएर ग्राहकलाई विद्युतीय भुक्तानीका लागि अभिप्रेरित गरिरहेको छ । सानिमा बैंकले सजिलो इ‑बैंकिङलगायत एयरलाइन्स टिकेट, होटल बुकिङ, अनलाइन सपिङका लागि ग्राहकलाई आकर्षित गर्ने प्रयास गरेको छ ।
लकडाउनयता बैंकहरूले डिजिटल भुक्तानीका लागि ग्राहकलाई प्रोत्साहन गरिरहेका छन् । बैंकहरुले ग्राहकलाई मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमा छुट सुविधा दिएर भए पनि आकर्षित गरेका छन् ।
माछापुच्छ्रे बैंकले घर बस्दा सुरक्षा पनि सुरक्षित बैंकिङ कारोबार पनि हुने भन्दै ग्राहकलाई डिजिटल बैंकिङमा आकर्षित गरेको छ । खानेपानी तथा बिजुलीको शुल्क भुक्तानी, टिभी तथा इन्टरनेटको शुल्क भुक्तानी, फन्ड ट्रान्सफर, फोन रिचार्जलगायत कम्पनीको एपबाटै गर्न ग्राहकलाई आग्रह गरेको छ ।
त्यस्तै बैंकहरूले क्यासब्याक, शुल्क छुटलगायतका सुविधा दिएर पनि ग्राहकलाई डिजिटाइजेसनका लागि प्रेरित गरिरहेको पाइन्छ । एनआइसी एसिया बैंक यसमा धेरै अगाडि छ । एनआइसी एसियाको मोबैंकबाट छैटौँ कारोबार गर्दा ६ प्रतिशत क्यासब्याक दिने जनाएको छ । बैंकले भाइबर बैंकिङ, क्यूआर मर्चेन्ट पेमेन्ट, इन्टरनेट बैंकिङ, आईभिआर एन्ड मिस्डकल बैंकिङलगायतलाई विशेष प्राथमिकता दिएको छ ।
एनएमबी बैंकले ट्रु डिजिटल बैंकिङ एक्सपेरियन्सका लागि इएनएमबी एप डाउनलोड गर्न आग्रह गरेको छ । कम्पनीले म्यासेन्जर तथा भाइबरबाट च्याटिङ गरेर सहजै खाता खोल्न सकिने सुविधा ल्याएको छ । अन्य बैंकहरूले पनि ग्राहकलाई आकर्षित गर्न डिजिटल बैंकिङलाई प्राथमिकता दिएका छन् ।
विद्युतीय भुक्तानी दोब्बर
बैंकहरूले प्रोत्साहित गरेसँगै सबै किसिमका विद्युतीय भुक्तानी दुई महिनामै दोब्बरले बढेको छ । २०७७ वैशाख अन्तिमसम्ममा ३४ लाख ८८ हजार ९०३ एटिएम कारोबारबाट २७ अर्ब ८४ करोड रुपैयाँ भुक्तानी भएकोमा असार अन्तिमसम्ममा ६३ लाख २ हजार ८४६ एटिएम कारोबारबाट ५४ अर्ब ७६ करोड रुपैयाँ भुक्तानी भएको छ ।
त्यस्तै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र डेबिट कार्डको प्रयोग र भुक्तानी पनि दोब्बरले बढेको छ । डेबिट कार्ड र प्रिपेड कार्ड पनि उल्लेख्य लिइएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
लकडाउनको अवधिमा आईपीएस र कनेक्ट आईपीएसमार्फत पनि दोब्बरले कारोबार तथा भुक्तानी बढेको छ । कनेक्ट आईपीएसबाट वैशाख मसान्तसम्ममा २३ अर्ब ६८ करोड रुपैयाँ भुक्तानी भएकोमा असार मसान्तसम्ममा ५१ अर्ब ३० करोड रुपैयाँ भुक्तानी भएको छ । त्यस्तै आईपीएसबाट वैशाख मसान्तसम्ममा १ खर्ब ८ अर्ब ६८ करोड रुपैयाँ भुक्तानी भएकोमा असार मसान्तसम्ममा २ खर्ब २३ अर्ब ६५ करोड रुपैयाँ भुक्तानी भएको छ ।
यसैगरी, एक बैंकबाट अर्को बैंकमा हुने प्रत्यक्ष कारोबार ‘आरटीजीएस’मार्फत वैशाख मसान्तसम्ममा ६८ खर्ब ८८ अर्ब रुपैयाँ भुक्तानी भएकोमा असार मसान्तसम्ममा ११४ खर्ब ६३ अर्ब रुपैयाँ भुक्तानी भएको छ ।
मोबाइलबाट सहजै ब्यालेन्स ट्रान्सफर हुने, समय बचत हुने, स्वास्थ्य तथा सुरक्षा जोखिम कम हुनेलगायतका कारण बुझेका ग्राहकले डिजिटल भुक्तानी गरिरहेका बेला कोरोनाभाइरस संक्रमणका कारण ठूलो संख्यामा वित्तीय सेवाग्राहीले डिजिटल बैंकिङ रोजेको बैंकहरूको बुझाइ छ । यसले बैंकहरूमा हुने कागजी कारोबारलाई विस्तारै न्यूनीकरण गर्दै लैजाने, चेकको कारोबार घट्ने, नोटको कारोबारमा कमी आउने तथा बैंकहरूको सञ्चालन खर्चसमेत न्यूनीकरण हुन राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित समय १५:०५ बजे


















