गृहपृष्ठ निषेधाज्ञाको मौका छोप्दै वन तस्करी

निषेधाज्ञाको मौका छोप्दै वन तस्करी

कोभिड–१९ त्रास छल्न जारी निषेधाज्ञाकै समयमा महोत्तरीका वन क्षेत्रमा तस्करको प्रवेश बढेको छ । चैत ११ देखि साउन ७ अघिको लकडाउन र साउन २० यता जिल्ला प्रशासन कार्यालय महोत्तरीले पटक‑पटक अवधि बढाउँदै लगेको निषेधाज्ञामा वन सम्पदा चोरी हुने क्रम बढेको हो ।

भदौ लागेयतामात्रै वन सुरक्षा गस्तीले गरेको सघन खोज अभियानमा भर्खरै कटान गरेर लुकाइएका साखुका काठ ५९ क्युविक फिट बरामद गरेको छ । चोरी कटान गरेर लगिने काठ धेरैजसो अवैध रुपले सञ्चालन गरेका समिल (काठ चिरान गर्ने कारखाना) र फर्निचर उद्योगमा फेलापरेको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिए । ‘हामीले यसै सातामात्र बर्दिवासका दुई ठाउँबाट ५९ क्युविक फिट नापका चिरान गरिएका ९४ थान नयाँ कटान गरिएका काठ बरामद गरेका छौँ,’ डिभिजन प्रमुख साहले भने, ‘तस्करले रुख कटान गर्ने र अवैध रुपमा सञ्चालनमा रहेका फर्निचर उद्योगले चिरान गराएर लुकीछिपी बेच्दा रहेछन् ।’ यसरी चोरी कटान हुने रुखमा साखुका ससाना बोट बढी पाइएको वन सुरक्षा गस्तीको अनुभव छ ।

आम मानिस र वन सुरक्षा जवान कर्फ्युले सक्रिय नहुने अनुमानमा तस्करले यो समय प्रयोग गर्ने गरेका छन् । यसअघि साउनमा जिल्लाकै गौशाला नगरपालिका क्षेत्रभित्र चोरी कटान गरी चिरान गराएर लुकाई राखिएका साखुकै १०० क्युविक काठ वन सुरक्षा गस्तीले बरामद गरेको थियो । यसअघि चैतदेखि असार मसान्तसम्म डिभिजन वन कार्यालयले सञ्चालन गरेको सघन गस्तीले ३०० क्युविक फिट साखुकै काठ बरामद गरेको कार्यालय अभिलेखमा छ ।

लकडाउन र कर्फ्युभित्र वनसम्पदा चोरी कटान र वन्यजन्तुको अवैध सिकार बढेपछि कार्यालयले चैतदेखि नै समय तालिकासहित तीनवटा वन सुरक्षा गस्ती परिचालित गर्दै आएको जनाएको छ । लकडाउन सुरु भएयता हालसम्म करिब ५०० क्युविक फिट चोरीका साखुका काठ बरामद गरिएको छ । काठ चोरीमा प्रयोग गरिने हतियार, काठ ओसार्न प्रयोग गरिएका साइकल, मोटरसाइकल र टेम्पुसहितका साधन नियन्त्रण लिइएको छ । यो अवधिमा १० जना पक्राउ परेका छन् । लकडाउन र कर्फ्यु अवधिभित्रै सिकारीको आक्रमणमा परी घाइते भएका १० वन्यजन्तुको उद्धार गरिएका छन् ।

प्रकाशित समय ११:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु