गृहपृष्ठ उल्लासबिनाको इन्द्रजात्रा

उल्लासबिनाको इन्द्रजात्रा

आज इन्द्रजात्रा । हरेक वर्ष हर्ष उल्लासका साथ मनाइने यो पर्व यस वर्ष भने केही उल्लास छाएको छैन । चहलपहल पनि छैन । यो पर्वमात्रै होइन, अगाडिका धेरै पर्व पनि यसपटक कुनै चहलपहल बिना सकिएका छन् । कोरोनाभाइरस महामारीको कारण चैतयताका नेपालीका हरेक जात्रा र पर्वको हालत उस्तै छ । इन्द्रजात्रा पर्वको बेग्लै विशेषता र महत्व छ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी परम्परागत रुपमा यो पर्व मनाउने गरिन्छ ।

इन्द्रजात्रा खासगरी काठमाडौँ उपत्यकाका नेवार समुदायले मनाउने गर्छन् । नेवार समुदायको मुख्य चाडका रुपमा यसलाई लिन सकिन्छ । इन्द्रजात्रा सुरु भएसँगै नेवारहरुको अन्य धेरै पर्व सुरु हुन्न्छ । प्रत्येक वर्ष भाद्र चतुदर्शीका दिन पर्ने यो चाड काठमाडौँ उपत्यकाका तीनै जिल्लाका साथै धुलिखेल, दोलाखालगायतका जिल्लामा पनि उत्तिकै महत्वका साथ मनाइन्छ ।

यस दिन काठमाडौंका भित्री सडकका विभिन्न स्थानमा इन्द्र प्रदर्शनी, भैरवको मकुण्डो, सम्ह्य सजाएर प्रदर्शनीमा राख्ने गरिन्छ । यसबाहेक कुमारी र लाखे नाच देखाउने गरिन्छ । धेरै जना सहभागी भएर उल्लासको साथ मनाइने यो पर्वले धार्मिक तथा संस्कृतिक महत्वका साथै एकताको भाव पनि बोकेको छ ।

इन्द्रजात्रा पर्व लिच्छवीकालदेखि नै अस्तित्वमा रहेको पाइन्छ । राजा जयस्थिति मल्लको पालादेखि इन्द्रजात्रा मनाउन थालिएको हो ।

कसरी मनाइन्छ ?

भाद्र शुक्ला द्वादशीका दिन हनुमान ढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि यो पर्व सुरु हुन्छ । यो जात्रा आठ दिनसम्म चल्छ । भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिंगोलाई इन्द्रध्वजोत्थान पनि भन्ने गरिन्छ । लिंगोको फेदमा भैरवको पूजा गरिन्छ ।

इन्द्रध्वजाको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वको रुपमा पनि यो पर्वलाई लिने गरिन्छ । यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेको नालास्थित जंगलमा छाडिएको बोकाले छोएको रुख भाद्र शुक्ला द्वितीयका दिन काटिन्छ । काटिएको लिंगोलाई उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखिन्छ र एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिंगो तयार पारिन्छ ।

यो पर्वमा दहचोस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भोलिपल्ट स्नान गरेर मेला भर्न भक्तजनको भीड लाग्ने गर्छ । त्यस्तै कुमारी घरअगाडि रहेको त्रिलोकनारायण मन्दिरमा विष्णुले लिएको १० अवातर पनि देखाइन्छ । यसपछि बहमत निकाल्ने भनी बाँसलाई माला उनेर लामो बनाई त्यसमा बी बालेर नगर परिक्रमा गरिन्छ । यंलाथ्व पूर्णिमा जात्राको चौथो दिन पहने याः भनेर गणेश, भैरव र कुमारीको रथलाई कान्तिपुर नगरीको माथिल्लो भाग मरुबाट असनसम्म परिक्रमा गराइन्छ ।

इन्द्रजात्राका दिन नेवार समुदायका मानिसले ‘समयबजी’ खान्छन् । यंलागा चौथीका दिन नानिचा याः भनेर गणेश, भैरव र कुमारीका तीनवटै रथलाई किलागल परिक्रमा गराई बेलीको साइतमा लिंगो ढालेर जात्रा समापन गरिन्छ । यसरी आठ दिनसम्म नेवार समुदायहरु जात्रामा रमाउँछन् ।

कसरी मनाउन सुरुवात गरियो ?

किंम्बदन्ती र इतिहासमा उल्लेख भएअनुसार राजा इन्द्र आफ्नी आमा वसुन्धाराको व्रतका निम्ति पूजा सजाउन श्वर्गलोकबाट काठमाडौँमा पारिजात फूल टिप्न आएका थिए । फूल टिप्न लाग्दा उनलाई काठममाडौँबासीले चोर भनी नियन्त्रणमा लिए र डोरीले बाँधेर बीच सडकमै जात्रा गरे ।

त्यस बन्धनबाट मुक्त गराउन आमा वसुन्धारा आएर छोरा दिन र बदलामा कुहिरो दिने बाचा गरी इन्द्रलाई लग्छिन् । त्यही कुहिरोले गर्दा धानबाली समयमा पाकेको भन्ने जनबोली अहिले पनि छ । इन्द्रकी आमालाई उनको छोरा फिर्ता दिँदा यहाँका मानिसले मृत्युपश्चात् मोक्ष दिलाउनुपर्ने भनी वाचा पनि बाँध्न लगाए भन्ने कथन छ । यो समयमा पानी पर्न रोकिएको भए पनि घरी‑घरी बादल र कुहिरो लाग्ने र हल्का वर्षा पनि हुने अवस्थालाई इन्द्रको आमाले छोराको वियोगमा झारेको आँसु भनेर पनि विश्वास गरिन्छ ।

पुराणमा उल्लेख भएअनुसार प्राचीन कालमा देवता र असुरहरु ठूलो युद्धको तयारीमा लागे । त्रिदेव र सम्पूर्ण देवगणले इन्द्रलाई विजयी गराउन ध्वजा बनाएर त्यसलाई पूजा गरेर इन्द्रलाई हस्तान्तरण गरे । इन्द्रले समातेको त्यस ध्वजालाई इन्दध्वजा भनियो । देवासुर संग्राममा देवताहरुको विजय भएपछि इन्द्रध्वज पूजा र समारोहले निरन्तरता पायो । पृथ्वीको राजा उपरिचर वसुलाई देवराज इन्द्रले इन्द्रध्वजा दिएपछि उनले युद्धमा सजिलै विजय हासिल गरेका कारण यो पर्व मनाउने हौसला जाग्यो । त्यसैले अहिले पनि बढो उत्साह र हौसलाका साथ यो पर्व मनाइन्छ ।

नेपाल एकीकरणको परिप्रेक्षमा पनि यस दिनको विशेष महत्व छ । यसैदिन पृथ्वीनारायण शाहले राजा जयप्रकाश मल्ललाई हराई कान्तिपुर विजय गरेका थिए । हरेक चाड र पर्वको आफ्नै मौलिक, सांस्कृतिक, धार्मिक विशेषता हुन्छ । इन्द्रजात्राको आफ्नै मौलिक विशेषता छ । विशेषगरी नेवार समुदायले मात्र मनाउँछन् । तर, राष्ट्रिय पर्वको महत्व बोकेको इन्द्रजात्रा पर्व यो वर्ष खल्लो बनेको छ । नेवार समुदायका मानिसले घरबाटै आफ्नै ढंगले यो पर्व मनाइरहेका छन् ।

(तस्बिरहरू विगत वर्षका हुन् ।)

प्रकाशित समय ०९:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु