गृहपृष्ठ इन्द्रजात्रा गर्न नमिलेपछि क्षमापूजा गरिँदै, रथयात्रा स्थगित
इन्द्रजात्रा गर्न नमिलेपछि क्षमापूजा गरिँदै, रथयात्रा स्थगित
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रामा यो वर्ष रथ तान्न स्थगन गरेपछि क्षमा पूजा गरिने भएको छ । कोरोनाभाइरस संक्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण रथ स्थगन गरी क्षमा पूजा गर्न लागिएको हो ।
कोरोनाबाट बच्न रथयात्रा स्थगन गरिएकाले इन्द्रजात्रा सम्बन्धित सबै मठमन्दिरमा क्षमापूजा गरिने गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए । भाद्र शुक्ल चतुर्दशी इन्द्रजात्राको मुख्य दिन हो । यो अवसरमा काठमाडौँ उपत्यकामा प्राचीनकालदेखि नै सार्वजनिक बिदा दिने गरिन्छ । आजैदेखि वसन्तपुर दरबार क्षेत्रमा कुमारी यात्रा सुरु हुने परम्परा छ । यो वर्ष भने सबै परम्परा रोकिएको छ ।
आजको दिन कुमारीलाई तल्लो टोल यात्रा गराउने गरिन्छ । भाद्र शुक्ल पूर्णिमाका दिन कुमारीलाई माथिल्लो टोल यात्रा गराइन्छ । आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वजपतन अर्थात् इन्द्रजात्राको लिंगो ढालिन्छ । यो वर्ष भदौ २२ गते बिहान ४:०६ बजे लिंगो ढाल्ने साइत निस्किएको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए ।
इन्द्रजात्रासँग सम्बन्धित तलेजु, भैरव, गणेश, कुमारीलगायत मन्दिरमा क्षमा पूजा गर्ने तयारी भएको संस्थान काठमाडौँ शाखाका प्रमुख सुवेदीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयमा भएको जिल्ला सुरक्षा समितिको बैठकले पनि जात्रा, चाड पर्व मनाउँदा भीडभाड नगर्न निर्णय गरेको छ । यो वर्ष रातो मच्छेन्द्रनाथको जात्रा पनि हुन सकेको छैन ।
भाद्र शुक्ल द्वादशी अर्थात् भदौ १४ गते बिहान ७:०७ बजे नेपाल पञ्चांग निर्णायक समितिले दिएको साइतमा इन्द्रध्वजोत्थान नगरिएपछि मानन्धर समूहले इन्द्रध्वजोत्थान गरिने हनुमानढोका दरबार क्षेत्रमा क्षमा पूजा गरेको थियो । काठमाडौँ उपत्यकामा कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि भदौ ३ गते रातिदेखि निषेधाज्ञा जारी गरिएपछि यो वर्ष इन्द्रध्वजोत्थानका लागि रुखसमेत काटिएको थिएन । भदौ ४ गते इन्द्रजात्राको लिंगो काट्ने साइत राति ९:२५ बजेको दिइएको थियो । अघिल्लो बुधबार रातिदेखि नै काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि लिंगो नकाटिएको संस्थानले जनाएको छ ।
इन्द्रजात्रा मनाउन नसकिने भएपछि पूजा आराधना गरिने सम्बन्धित सबै मठमन्दिरमा क्षमा पूजाको विधि भदौ १४ गतेदेखि सुरु भएको संस्थानका काठमाडौँ शाखा प्रमुख सुवेदीले बताए । इन्द्रजात्रा राजधानीका नेवार समुदायले महत्वका साथ मनाउने गरेका थिए । (रासस)
प्रकाशित समय १०:११ बजे

















