गृहपृष्ठ भारतबाट मजदुरी गरी फर्किएका नेपालीसँग पाँच गुणा बढी भाडा असुली

भारतबाट मजदुरी गरी फर्किएका नेपालीसँग पाँच गुणा बढी भाडा असुली

कोरोना महामारीका कारण भारतबाट कैलालीको त्रिनगर नाका भएर नेपाल भित्रिने नागरिकसँग यातायत व्यवसायीले चार गुणाभन्दा बढी भाडा असुल्ने गरेका छन् । ‘कोरोनाको जोखिम बढी हुने’ भन्दै व्यवसायीले भाडा बढी लिने गरेको यात्रुले गुनासो गरेका छन् ।

भारतबाट आएका नागरिकसँग सीमा क्षेत्रमा दैनिक भाडाका लागि बार्गेनिङ हुने गरेको छ । सुदूरपश्चिमका पहाडी जिल्लासम्मको भाडा बढीमा एक हजार रुपैयाँ भए पनि व्यवसायीले साढे ३ हजारदेखि ५ हजारसम्म असुलेको यात्रुले बताएका छन् ।

भारतमा मजदुरी गर्दै आएका नेपाली कोरोना त्रासका कारण अहिले स्वदेश फर्किरहेका छन् । कैलालीमा निषेधाज्ञाको मौका छोप्दै सवारीधनीले सीमा क्षेत्रबाट पाँच गुणा बढी भाडा लिएको एक यात्रुले बताए । कैलालीको लम्कीचुहा नगरपालिका २ वलियका तुलबहादुर कोलीले भारतबाट सहज रुपमा सीमासम्म आइपुगे पनि नेपालको सीमा नाकमा धेरै दुःख पाइएको दुखेसो गरे । ‘पहिला २ सय रुपैयाँमा घर पुगिन्थ्यो,’ उनले भने, ‘अहिले १ हजारदेखि १२ सयसम्म भाडा तिराए ।’ सीमा नाकामा नेपालीहरु भाडाका नाममा लुटिइरहेका छन् । तर, स्थानीय तहदेखि प्रशासनसम्मलाई जानकारी गराए पनि बेवास्ता भएको कोलीले गुनासो गरे ।

यातायात व्यवसायीले त्रिनगर सीमा नाकाबाट आलोपालो यात्रुलाई गन्तव्यतर्फ लगिरहेका छन् । एक दिन सुन्दर पश्चिम यातायात व्यवसायी र अर्को दिन अन्य यातायातका सवारी सञ्चालन हुँदै आएका छन् । सरकारले सामान्य अवस्थाको भाडाको थप ५० प्रतिशत लिएर यात्रुलाई गन्तव्यमा लैजान सूचना सार्वजनिक गरेको छ । तर, व्यवसायीको मनोमानी र स्थानीय प्रशासन, स्थानीय तह र सरकारकै अकर्मण्यताका कारण यात्रुले पाँच गुणा बढी तिर्नुपरिरहेको छ । बाजुराका लोकबहादुर शाहीले विगतमा बाजुराको भाडा १ हजार भए पनि अहिले ५ हजार तिर्नुपरेको बताए । उनीहरूले भनेजति भाडा नदिए बसमा चढ्नै नदिने यात्रुहरूको गुनासो छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले यातायात व्यवसायीले बढी भाडा लिएको गुनासो प्रशासनमा आएको स्वीकार गरेको छ । ‘भाडा बढी लिएको विषयमा यातायात व्यवसायीसँग नियमित छलफल भइरहेको छ,’ कैलाली प्रशासनका सूचना अधिकारी शिवराज जोशीले भने, ‘सरकारले तोकेअनुसार यातायात व्यवसायीले भाडा लिए/नलिएको बारेमा यात्रुसँग जानकारी लिने काम भइरहेको छ, बढी लिएको भेटिए कारबाही गर्छौं ।’

सार्वजनिक यातायात सहज रुपमा सञ्चालन नभएसम्म सर्वसाधारणलाई यात्रा गर्न पनि मुस्किल हुने देखिएको छ । अहिले सीमितमात्रै सवारी सञ्चालन भएकाले यात्रा गर्दा न सामाजिक दूरी कायम भएको छ न त सीमा क्षेत्रमा यात्रु खोज्दा सतर्कता अपनाइएको छ । यसले सबैलाई जोखिम भए पनि सरोकारवालाले गम्भीर रुपमा लिएका छैनन् ।

प्रकाशित समय १०:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु