गृहपृष्ठ जन्मेदेखि १८ वर्षसम्म सुतेको सुत्यै
जन्मेदेखि १८ वर्षसम्म सुतेको सुत्यै
पर्वतको एक विकट गाउँका १८ वर्षीय किशोर जन्मेको १४ दिनदेखि अहिलेसम्म सुतेको सुत्यै छन् । सुरुमा मेनेन्जाइटिस (मस्तिष्कको झिल्ली गम्भीर तरिकाले सुनिने रोग) बाट ग्रसित कुश्मा नगरपालिका १२ ठुलीपोखरीका सन्दीप लामिछाने चौबीसै घण्टा सुतेर जीवन बिताइरहेका छन् । उनको हातखुट्टा, शरीरको कुनै पनि भाग चल्दैन भने बोल्न, हाँस्नसमेत सक्दैनन् । त्यतिमात्र होइन, उनी आफैँ खानसमेत सक्दैनन् । सहजरूपमा स्वास फेर्न पनि गाह्रो हुन्छ ।
सुरुमा उपचारका लागि गण्डकी अस्पताल पोखरा लगिएको भए पनि रोग निको नभएपछि उनलाई विभिन्न झारफुक गर्ने तथा नेपालका सबैजसो अस्पतालमा पु‑याउँदा पनि अवस्था नसुध्रिएको उनकी आमा कल्पना सुवेदीले बताइन् । ‘नेपालका सबै ठाउँमा पु‑यायौँ तर निको हुन सकेन, अहिले काठको मुढोजस्तै ज्यूँदो अवस्थामा रहेको शरीर कुरेर बस्नुको विकल्प भएन,’ उनले भनिन् ।
शारीरिक वृद्धि भए पनि हातखुट्टा र शरीरको कुनै पनि भागले काम नगरेपछि काठको मुढोजस्तै चौबिसै घण्टा पल्टाएर वा ह्विलचियरमा ठडाएर राख्ने गरिएको छ । आर्थिक अवस्था कमजोर रहेको सुवेदीको परिवारका जेठा छोरा सन्दीपको अवस्था यस्तो भएपछि ठूलो समस्या परेको सन्दीपका बाबु कृष्णप्रसादले गुनासो गरे । सुवेदी परिवारका अन्य दुई सन्तान भने सपांग नै छन् । ‘रोग लागेदेखि नै उपचारबाट निको हुन्छ कि भनेर लाखौँ खर्च गरियो, बीसको उन्नाइस भएन,’ आमा कल्पनाले रुँदै भनिन्, ‘न धन बच्यो, न सपांग नै भयो ।’
असहजजस्तो देखिने उनको अवस्थाले परिवारका सदस्य पिरोलिने गरेका छन् । उनलाई खुवाउने, दिसापिसाब गराउने, लुगा फेरिदिने, नुहाइधुवाई गरिदिनका लागि एक जना रातदिन खट्नुपर्ने अवस्था छ । आमाबाबुले रात र दिन आलोपालो गरी स्याहारसुसार गर्नुपर्ने बाध्यता रहेको कल्पना बताउँछिन् ।
‘अब त निको होला भन्ने आश पनि मरिसक्यो,’ कल्पनाले भनिन्, ‘यही अवस्थामा कति वर्ष कुरेर बस्नुपर्ने हो थाहा छैन ।’ भगवान पनि आफ्नो जस्तो गरिब परिवारमा बज्रपात पारिदिएको कल्पनाको दुखेसो छ । सन्तान पाएपछि हुर्काउँला, बढाउँला, पढाउँला र उनीहरुको कमाइबाट सुखसयलमा बसौँला भन्ने अभिभावकको चाहना चकनाचुर भएको कृष्ण दम्पतीको गुनासो छ ।
सन्दीपले पूर्ण अपांगताको सुविधा पाउँदै आएका छन् भने स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि पाँच हजार रुपैयाँ सहयोग पाएका छन् । यसबाहेक अहिलेसम्म राज्यबाट उपचारका लागि होस् वा दैनिक स्याहारसुसारका लागि कुनै पनि सहयोग नपाएको उनीहरुले बताए । (रासस)
प्रकाशित समय १०:३४ बजे

















