गृहपृष्ठ पशु हिंसा गर्नेलाई ३० हजार जरिवानासहित सामाजिक बहिष्कार
पशु हिंसा गर्नेलाई ३० हजार जरिवानासहित सामाजिक बहिष्कार
हुम्लाको उत्तरी गाउँपालिका नाम्खाको सबै वडामा पशु हिंसा गर्न गराउन निषेध गरिएको छ । यदि कसैले पशु हिंसा गरेको पाइएमा तीस हजार रूपैयाँ जरिवाना र सामाजिक बहिष्कार गरिने भएको छ ।
पछिल्लो समय गाउँपालिकाको याल्वांगमा रहेको नाम्खा ख्योमजोङ गुम्बा एक धार्मिक क्षेत्र मात्र नभएर शैक्षिक क्षेत्रका रुपमा पनि विकास हुँदै गएको जानकारी याल्वांगका निवासी छेपालदोर्जे लामाले दिए । यहाँ मातृभाषामा तिब्बती लिपीको पढाई हुनुको अलवा नेपाली, अंग्रेजी र अन्य पाठ्यक्रमको पनि अध्ययन अध्यापन हुन थालेको छ ।
गुम्बामा विभिन्न प्रकारका पूजाआजाका साथै धार्मिक प्रवचन पनि हुने भएकाले विभिन्न प्रकारका सत्मार्गका आन्तरिक र बाह्य काम गर्न गराउन सहयोग पुगेको केर्मी गाउँका शिक्षक कर्णबहादुर लामाले बताए । उनको अनुभवमा यो गुम्बाले मानवीय र सामाजिक उद्धारका शिक्षाहरु दिने भएकाले गाउँपालिकाका स्थानीयहरु प्रत्यक्ष रुपमा मारकाट कम गर्दै गएको छ ।
केही वर्षअघि यही गुम्बाको अगुवाई र निर्देशनमा गाउँ गाउँमा भएका भरुवा बन्दुक नास गर्ने अभियान सुरु हुँदा गाउँमा अवैध शिकार खेल्ने र खेलाउने काम बन्द भएको हो । यसले गर्दावन्यजन्तु संरक्षणमा सकरात्मक काम भएको जानकारी नाम्खा गाउँपालिका खालोई गाउँका तोप्चेन लामाले दिए ।
यो गाउँपालिकाको नाम्खा ख्योमजोङ गुम्बा याल्वांग र गाउँपालिकाको समन्वयमा अबदेखि यो गापाभित्र कुनै पनि प्रकारको घरेलु तथा वनेलु पशुवस्तु मारकाट गरे गराएमा तीस हजार नगद जरिवानासहित सामाजिक बहिष्कार गर्ने गराउने निर्णय भएको जानकारी नाम्खा गाउँपालिकाले जनाएको छ ।
प्रकाशित समय १३:०७ बजे

















