गृहपृष्ठ असान्जको सुपुर्दगी सुनुवाइ ढिलो गर्न अस्वीकार

असान्जको सुपुर्दगी सुनुवाइ ढिलो गर्न अस्वीकार

बेलायतका एक न्यायाधीशले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई अमेरिका सुपुर्दगी गर्ने सम्बन्धी मुद्दाको सुनुवाइमा ढिलाई गर्न उनका वकिलहरुले गरेको अनुरोधलाई अस्वीकार गरेका छन् ।

अमेरिकी गोप्य एवं वर्गीकृत सूचना प्राप्त गर्न ह्याकरलाई प्रयोग गरेको भन्दै संयुक्तराज्य अमेरिकाले ४९ वर्षीय अस्ट्रेलियाली नागरिक असान्जलाई अमेरिका सुपुर्दगी गराउन चाहेको छ । हाल बेलायतमा प्रहरी हिरासतमा रहेका असान्जलाई अमेरिका सुपुर्दगी गर्ने वा नगर्ने भन्ने बारेमा महिनौंदेखि अदालतमा बहस जारी छ ।

असान्जमाथि अमेरिकामा गुप्तचरसम्बन्धी १८ वटा मुद्दा लागेका छन् । साथै विकिलिक्समाथि अमेरिकी सेनाका गोप्य दस्तावेजहरु सार्वजनिक गरेको आरोप पनि छ । यदि असान्जमाथिका आरोपमा दोषी ठहरिए उनीमाथि १७५ वर्षको जेल सजाय हुनेछ । कोरोनाभाइरस महामारीका कारण अदालतको सुनुवाई महिनौंदेखि रोकिएको छ ।

असान्जका वकिलहरुले उनीमाथिका आरोपहरु राजनीतिक प्रेरित र शक्तिको दुरुपयोग रहेको बताएका छन् । असान्जको मुद्दामा उनलाई दोषी ठहर गरिए विश्वभर प्रेस स्वतन्त्रता संकटमा पर्ने र पत्रकारहरुमाथि जोखिम बढ्ने भन्दै बहसहरु भइरहेका छन् ।

बेलायती कारागारमा १६ महिना बिताइसक्नु भएका असान्जलाई सुनुवाईका क्रममा ओल्ड बेली फौजदारी अदालतमा उपस्थित गराइएको थियो । अदालतमा उनले अमेरिकी सुपुर्दगीको मागलाई अस्वीकार गर्नु भएको थियो । असान्जका वकीलहरुले उनी शारीरिक र मानसिक रुपमा अस्वस्थ रहेको जिकिर गरेका थिए ।

अमेरिकी अधिकारीहरुले असान्जले अमेरिकी सैनिक गुप्तचर विश्लेषक चेल्सी म्यानिङलाई प्रयोग गरेर पेन्टागनको कम्प्युटर ह्याक गरेको दाबी गरेका छन् । असान्जका वकीलहरुले अमेरिकी संविधानको ‘प्रथम संशोधन’का आधारमा उनलाई संरक्षण प्राप्त हुनुपर्ने जिकिर गरेका छन् । उनीहरुको भनाईमा विकिलिक्समार्फत सार्वजनिक दस्तावेजले अमेरिकी सैनिकका गलत कार्यहरुको भण्डाफोर गरेको थियो ।

विकिलिक्सले सार्वजनिक गरेको फाइलमध्ये सन् २००७ को एउटा भिडियो पनि समावेश छ जसमा बग्दादमा अमेरिकी सेनाले अपाचे हेलिकप्टरबाट गरेको आक्रमणबाट दुई जना रोयटर्सका पत्रकार समेत ११ जना निर्दोश व्यक्तिको मृत्यु भएको देखिएको छ ।

पत्रकारहरुका संघसंस्था एवं मानव अधिकार समूहहरुले सुपुर्दगीको अनुरोधलाई अस्वीकार गर्न बेलायत सरकार समक्ष आग्रह गरेका छन् । एम्नेस्टी इन्टरनेसनलले अमेरिकी अधिकारीहरुका नकारात्मक अभियानबाट असान्जलाई प्रताडित गर्न खोजिएको बताएको छ । न्यायाधीशले अक्टोबरको सुरुमै फैसला सुनाउने सम्भावना छ । तर मुद्दा हार्ने पक्षले पुनरावेदन गर्न पाउने भएकाले पनि यो मुद्दा अझै केही समय लम्बिने छ । (रासस)

प्रकाशित समय १३:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु