गृहपृष्ठ मुक्तिनाथ विकास बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट
मुक्तिनाथ विकास बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट
मुक्तिनाथ विकास बैंकले भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहकलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्दै काठमाडौंमा रहेका स्वास्थ्यसँग सम्बन्धित विभिन्न संस्थासँग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । बैंकले बसुन्धारामा रहेको काठमाडौँ नेचुरोपेथी अस्पताल, लाजिम्पाटमा रहेको भिजन कन्सर्न, अनामनगरमा रहेको डाक्टर अन कल, लाजिम्पाटमा रहेको सुरिया हेल्थ केयर र कमलपोखरीमा रहेको सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटोरीसँग सम्झौता गरेको हो ।
सम्झौतासँगै मुक्तिनाथ विकास बैंकका ग्राहकलाई काठमाडौं नेचुरोपेथी अस्पतालकोे सम्पूर्ण उपचारमा १० प्रतिशत, भर्ना भएर बस्ने बिरामीका लागि शय्यामा १० प्रतिशत, चिकित्सक परामर्श शुल्कमा १५ प्रतिशत र स्पासम्बन्धी सम्पूर्ण सेवामा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
त्यसैगरी लाजिम्पाट, चाबहिल र बौद्धमा रहेको भिजन कन्सर्नका विभिन्न सेवा जस्तैः लोकल अप्टिकल सामानमा २५ प्रतिशत, कन्ट्याक्ट लेन्समा १० प्रतिशत र ब्रान्डेड अप्टिकल सामानमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
काठमाडौंको अनामनगरमा रहेको डाक्टर अन कलका विभिन्न सेवा लिँदा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । यस सेवाअन्तर्गत स्वास्थ्यसम्बन्धी सेवा जस्तैः डाक्टर परामर्श, फिजियोथेरापी, नर्सिङ केयर, औषधी डेलिभरी र अन्य ल्याबोरेटोरी सेवा घरबाटै लिन सकिनेछ ।
त्यस्तै लाजिम्पाटमा रहेको सुरिया हेल्थ केयरमा पनि विभिन्न डायग्नोस्टिकसम्बन्धी सेवामा १० प्रतिशत छुट र अहिले विषम परिस्थितिलाई लक्षित गरी पीसीआर परीक्षणमा ४०० रुपैयाँको विशेष छुटको व्यवस्था गरिएको छ । कमलपोखरीमा रहेको सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटोरीमा पनि पीसीआर परीक्षणमा १० प्रतिशत र अन्य सेवामा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
विभिन्न संस्थासंग हातेमालो गर्दै कोभिड १९ संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबार बढाउने कार्यमा उल्लिखित सम्झौताहरुले थप प्रोत्साहान गर्ने अपेक्षा बैंकले लिएको छ । ग्राहकले भिसा नेटवर्कअन्तर्गत जुनसुकै बैंकको एटीएमबाट बिनाशुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।
प्रकाशित समय १३:२३ बजे

















