गृहपृष्ठ वृद्धको घाँटीमा बञ्चरो प्रहार गरी ‘अघोरी बाबा’ फरार

वृद्धको घाँटीमा बञ्चरो प्रहार गरी ‘अघोरी बाबा’ फरार

ढोंगी अघोरी बाबाको बञ्चरो प्रहारबाट धनुषामा एक जना घाइते भएका छन् । आफूलाई ‘अघोरी बाबा’ बताउने एक जनाले मिथिला नगरपालिका २ नक्टाझिज बस्ने राजकुमार महतोमाथि बञ्चरो प्रहार गरेको हो ।

मिथिला नगरपालिका २ बस्ने करिब ६० वर्षीय राजकुमार महतोको घाँटीमा ज्यानै लिने गरी बञ्चरो प्रहार गरी ‘अघोरी’ फरार भएको प्रहरीले जनाएको छ । धनुषा प्रहारीका अनुसार मिथिला नगरपालिका १ लक्ष्मीनिवासमा महतोको बाँस चोरिरहेको ‘अघोरी’लाई बाँस किन काटेको ? भनेर सोधखोज गर्दा बञ्चरोले हानेको हो ।

बञ्चरोले घाँटी काटिएर घाइते भएका महतोको स्थानीय स्तरमा उपचार गरिएको परिवारजनले बताएका छन् । घाइते महतोको घाँटीमा दर्जनभन्दा बढी टाँका लगाएको महतोका छोरो ओमप्रकाश महतोले बताए ।

घटनालगत्तै स्थानीयबासी र इलाका प्रहरी कार्यालय ढल्केवरको टोली घटनास्थलमा पुगेपछि ‘अघोरी’ फरार भएको स्थानीयले बताए । उसको खोजी कार्य तीव पारिएको प्रहरीले जनाएको छ ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ८ दिगम्वरपुर स्थायी घरका भएको र आफूलाई ‘अघोरी बाबा’ भने ४० वर्षीय तुलसी नाम उक्त व्यक्ति महिना दिनभन्दा बढी समयदेखि मिथिला नगरपालिका १ लक्ष्मी निवासस्थित बसही खोलाकिनारमा त्रिपाल टागेर कुकुर र बाँदरसँगै बस्दै आएको स्थानीयले बताएका छन् ।

लक्ष्मीनिवासकै नातामा पर्ने केही व्यक्तिहरुको आडमा खोलाकिनारमा बसेको उक्त ढोंगी ‘अघोरी’लाई बचाउन खोजिएको पीडित परिवारजनको आरोप छ । खेतमा बाँस चोरिरहेको फेला परेपछि सोधखोज गर्दा उल्टै महतोको घाँटी काटेर हत्या गर्न खोजेको स्थानीय शिवकुमार सिंहले बताए ।

‘अघोरी’ र उसलाई संरक्षण गर्ने केही व्यक्तिलाई पक्राउ गरी कडा कारबाहीको माग स्थानीले गरेका छन् । दिगम्वरपुरबासीले भने मानसिक सन्तुलन समेत ठिक नभएका तुलसी नामको ढोंगी बाबा बनेर यस्ता कयौं अपराधसमेत गरेको बताएका छन् ।

गाँजा, भाङ र लागु औषधसमेत सेवन गर्ने ढोंगी बाबा बाँदर र कुकुरसँगै खोलाकिनारमा बस्ने स्थानीय रामचन्द्र महतोले जानकारी दिएका छन् ।

प्रकाशित समय २१:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु