गृहपृष्ठ एक संघर्षशील जनप्रतिनिधिको विगत : कमैयाबाट मुक्ति पाएपछिका अनेकन् भोगाइहरू
एक संघर्षशील जनप्रतिनिधिको विगत : कमैयाबाट मुक्ति पाएपछिका अनेकन् भोगाइहरू
भनिन्छ संघर्षबाटै मान्छेको जीवन सफलतातर्फ जान्छ । जति मेहेनत गर्यो उतिनै मान्छे सफल बन्दै जान्छ । सामान्य नागरिकको जीवन सामान्यनै रहनुपर्छ भन्ने हुँदैन । मेहेनत गरे असम्भव केही पनि छैन । यस्तै एक उदाहणीय जनप्रतिनिधि हुन् भागिराम चौधरी ।
कुनै बेलामा मुक्त कमैयामा बसेका चौधरी अहिले धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष छन् । २०३३ जेठ १० गते जन्मेका भागिराम आमा चिर्चियादेवी र बुवा शुन्दर डँगौरा थारुजस्तै साहुसँगै कमैया बसेका थिए । साहुको घरमै बसेर ६/७ कक्षासम्म अध्ययन गरेका भागिरामले २०५२ सालमा कमैयाबाट मुक्ति पाएका थिए । कमैयाबाट मुक्ति पाएपछि उनले हाइ स्कुल पास गरे ।
उनको परिवार ऐलानी जग्गामा सानो झुपडी बनाएर बसेको थियो । भागिरामका बुवाले घरको जेठो छोरा भएकै कारण सानै उमेरमा उनको विवाह गरिदिए । विवाहपश्चात् गुजारा चलाउनकै लागि उनी तत्कालीन नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा कार्यालय सहयोगीको रुपमा काम गर्न थाले ।
पार्टी कार्यालयमा लामो समय काम गरेपछि पनि खासै उपलब्धि नभएपछि भागिराम दम्पत्तीसहित बर्दियाको एक होस्टेलमा काम गर्न गए । त्यहाँ सरसफाईदेखि भाँडा माझ्ने काम गरे । त्यहाँ केही वर्ष काम गरेर भागिराम धनगढीतिरै फर्केर सिकर्मीको रुपमा काम गर्न थाले ।
सिकर्मीको काम गर्दा पनि उनलाई खासै चित्त बुझेन । सोचेजस्तो आम्दानी नभएपछि उनी रिक्सा चलाउन थाले । २ वर्ष सिकर्मीको काम गरेका उनले करिब २ वर्ष नै रिक्सा चलाए । भोकभोकै पनि रिक्सा चलाउने भागिरामले स्वास्थ्यको ख्याल नगरेपछि बिरामी पर्न थाले । त्यसपछि फेरि अर्को व्यवसाय रोजे ।
उनले घर बनाउने डकर्मीको काम सिके र सोही काम गर्न थाले । साथसाथै तत्कालीन नेकपा माओवादी पार्टीको सदस्यता लिएर राजनीति पनि सुुरु गरे । उनले घर बनाउने ठेक्का पनि लिन थाले । परिवारमा ६ दाजुभाइमध्ये जेठा भागिरामलाई कामको भार पनि धेरै थियो । त्यसपछि श्रीमान श्रीमतीसहित उनी घरको ठेक्का लिने र आफैं मजदुरी पनि गर्न थाले । बिस्तारै भागिरामको आर्थिक अवस्था सुधार भयो । दुई वटा छोरीलाई पढाए । साथै, राजनीतिमा पनि सक्रियता देखाउन थाले ।
राजनीतिमा पनि सक्रिय हुँदै माओवादी केन्द्रको वडा नम्बर ६ कमिटी अध्यक्ष बने । त्यसपछि स्थानीय तह निर्वाचनको माहोल तात्दै गयो । वडा अध्यक्षका लागि ४ जनाको नाम सिफारिस भयो । सबैले सहमति गरी भागिरामलाई नै अध्यक्षको उम्मेदवार बनाउने निर्णय भयो । तर, जित्ने निश्चित थिएन । जनतासँग पहिलेदेखि नै सहयोगी भावना भएका भागिराम कहिलेकाहीँ ‘चुनाव जितिहाल्छु’ भन्नेमा विश्वस्त त हुन्थे । तर, आफू सामान्य गरिबको छोराले हुनेखाने वर्गसँगै चुनाव लड्दा उनलाई हारिन्छ कि भन्ने डर भने पक्कै थियो ।
राजनीतिमा निरन्तरता दिएका भागिरामले स्थानीय तहको निर्वाचनमा हालको नेकपा तत्कालीन माओवादी केन्द्रबाट धनगढी उपमहानगरपालिकाको वडा नम्बर ६ को वडाध्यक्षमा निर्वाचित भए । त्यसपछि त भागिरामसहित उनको परिवारमा खुसीको सीमा नै रहेन ।
भागिराम जुन वर्गबाट संघर्ष गर्दै अगाडि बढेका थिए, अहिले तिनै वर्गलाई प्राथमिकतामा राखेर काम गर्नुपरेको छ । भागिराम भन्छन्, ‘दैनिक ८ घण्टा काम गर्नुपर्ने ठाउँमा १२/१४ घण्टा काम गरेकै कारण मेरो त्यो अवस्था सुधार भएको हो । मैले कमैयाबाट मुक्ति पाएसँगै केही नगरी बसेको भए परिवार पाल्नै नसक्ने अवस्थामा हुन्थेँ । मैले दोब्बर समय दिएर पनि काम गरेँ र सफलताको ढोका खुल्दै गयो ।’
अहिले पनि वडाध्यक्ष चौधरी बिहान १० बजेदेखि ५ बजेसम्म वडा कार्यालयमै भेटिन्छन् । ‘वडाकै कामले बाहिर गएमात्र हो, नत्र म पूर्ण समय कार्यालयमा दिन्छु,’ उनले भने, ‘अहिले म बिहान र साँझको केही समय मात्र घरको काममा दिन्छु । बढीभन्दा बढी समय वडाकै काममा हुन्छु ।’
‘अहिलेका मान्छेहरु २ घण्टा पनि काम गर्दैनन्, अनि सफलता मिलेन भन्छन् । सफल बन्नका लागि दोब्बर, तेब्बर मेहेनत गर्नुपर्छ । त्यसपछि मात्रै सफलता हात लाग्छ,’ भागिरामको अनुभव छ । राजनीतिमा लागेर वडाध्यक्ष बनिसकेपछि पनि आफ्नो मेहेनत पुरानै अवस्थाको रहेको उनी बताउँछन् ।
उनका अनुसार अहिले चौधरीकी श्रीमती घरको ठेक्का लिएर काम गर्छिन् । ‘एउटा छोरी जागिरमा, अर्की पढाइमा, मचाहिँ जनताको सेवामा छु,’ उनले परिवारका सदस्यहरुको जिम्मेवारी सुनाए । जनताले दिउँसो वा राति आवश्यक कामका लागि जति बेला बोलाए पनि आफू कार्यालयमा आउने गरेको उनले बताए । ‘मेरो काम सेवा गर्ने हो, सधैँ सेवामा रहन्छु,’ भागिराम भन्छन् ।
प्रकाशित समय १३:४७ बजे

















