गृहपृष्ठ प्रेस काउन्सिलबाट किशोर श्रेष्ठको राजीनामा, गोपाल बुढाथोकी कावा अध्यक्ष
प्रेस काउन्सिलबाट किशोर श्रेष्ठको राजीनामा, गोपाल बुढाथोकी कावा अध्यक्ष
प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले राजीनामा दिएका छन् । श्रेष्ठले काउन्सिलको स्वायत्तताको रक्षाका लागि भन्दै प्रेस काउन्सिल बोर्ड बैठकसमक्ष राजीनामा पत्र बुझाएका हुन्र ।
काउन्सिलका तत्कालीन अध्यक्ष भवानीप्रसाद बरालका विरुद्धमा सर्वोच्च अदालतमा रिट परेपछि बोर्ड बैठकले श्रेष्ठलाई कार्यबाहक अध्यक्ष बनाएको थियो ।
सरकारले हालै प्रेस काउन्सिल नियमावलीमा संशोधन गरी श्रेष्ठलाई कार्यबाहक अध्यक्षबाट हटाइ हालै अधिवक्ता दुर्गा भण्डारी पौडेललाई प्रेस काउन्सिल सदस्यमा नियुक्ति दिँदै भदौ १ गते राती कार्यवाहक अध्यक्षको जिम्मेवारीसमेत दिएको थियो ।
यसका विरूद्धमा परेको रिट निवेदनमा सर्वोच्चले कार्यवाहक अध्यक्ष सरकारले तोक्ने गरी भएको नियमावली संशोधन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
श्रेष्ठले राजीनामा दिएपछि शुक्रबारै बसेको काउन्सिलको बोर्ड बैठकले काउन्सिलका सदस्य गोपाल बुढाथोकीलाई कार्यबाहक अध्यक्ष तोकेको छ । २०६५ देखि २०६९ सम्म काउन्सिलको बोर्ड सदस्य रहिसकेका बुढाथोकी पछिल्लो २ वर्षयता पुनः काउन्सिलका सदस्य रहँदै आएका छन् ।
प्रकाशित समय १४:३६ बजे

















