गृहपृष्ठ हराएका सवारी साधनको निवेदन र जानकारी अनलाइनबाटै
हराएका सवारी साधनको निवेदन र जानकारी अनलाइनबाटै
महानगरीय ट्राफिक प्रहरी महाशाखाले सेवालाई थप प्रविधिमैत्री बनाउदै सेवाग्राहीलाई थप सहज र सरल बनाउन हराएको वा चोरी भएको सवारी साधनको निवेदन अनलाइनबाटै दिने व्यवस्थाको सुरुवात आजैबाट गरेको छ ।
कोरोनाभाइरस (कोभिड- १९) महामारीको विषम परिस्थितलाई समेत मध्यनजर गर्दै प्रहरी प्रधान कार्यालयको सहयोगमा उक्त व्यवस्थाको सुरूवात भएको हो । महाशाखा प्रमुख एसएसपी भिम प्रसाद ढकालले हराएको, चोरी भएको वा फेला परेको सवारी साधनको अभिलेख व्यवस्थापनको लागि सफ्टवेयर सञ्चालनमा ल्याएको बताए ।
‘अनलाइन सेवा सुरु भएसँगै निवेदन र सिफारिसको लागि ट्राफिक कार्यालय धाउनुपर्ने दिनको अन्त्य भएको छ,’ उनले भने । सेवाग्राहीले घरैबाट निवेदन दिन सक्ने र सवारी साधन फेला परेको जानकारी लिन सकिने उनको भनाइ छ ।
यसको लागि सवारी धनीले अब ट्राफिक प्रहरीको वेबसाइट traffic.nepalpolice.gov.np गएर फर्म भर्नुपर्ने हुन्छ । वेबसाइट खोलेपछि दायाँतर्फ रहेको अनलाइन एप्लिकेसनभित्र रहेको लस्ट भेइकल एप्लिकेसनमा क्लिक गर्नुपर्ने हुन्छ ।
एप्लिकेसनमा क्लिक गरेपछि माग भएबमोजिम सेवाग्राहीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ । सबै विवरण भरिसकेपश्चात सेभ अप्सनमा क्लिक गरेपछि निवेदकले एप्लिकेसन नम्बर प्राप्त हुनेछ । सेवाग्राहीले अनलाइनबाटै सवारी साधन फेला परे/नपरेको थाहा पाउन चेक एप्लिकेसनमा क्लिक गरी दिएको एप्लिकेसन नम्बर, पुरा नामथर र सवारी नम्बर राखेर चेक गर्नु पर्नेछ ।
यसअघि लाइसेन्स, बिल बुक र पर्मिट हराएको निवेदन र सिफारिस लिन ट्राफिक महाशाखा धाउनुपर्ने बाध्यता थियो । असोज ५ गतेदेखि सुरु भएको लस्ट डकुमेन्ट एप्लिकेशन अनलाइन सेवाबाट ९४९ जना सेवाग्राहीले सेवा प्राप्त गरेका छन् ।
प्रकाशित समय १६:५५ बजे

















