गृहपृष्ठ विदेशी भूमि प्रयोग गर्नुपर्ने बाध्यता हट्यो : नेपाली सेना
विदेशी भूमि प्रयोग गर्नुपर्ने बाध्यता हट्यो : नेपाली सेना
दार्चुलाको ब्यास नगरपालिका १ छाङरुबासीलार्ई स्वदेशी भूमिको बाटो भएर जिल्ला सदरमुकाम आवत–जावत गर्न सजिलो भएको छ । नेपाली सेनाले घाँटीबगड-छाङरु गोरेटो र घोडेटो बाटो खनेर सोमबार स्थानीय तहलाई हस्तान्तरण गरेपछि त्यस क्षेत्रका जनतालाई महाकालीवारि किनारैकिनार भएर आवत-जावत गर्न सुविधा भएको हो ।
घोडेटो बाटो पूर्णरुपमा सञ्चालमा आएसँगै अब उप्रान्त मुलुकको एक स्थानबाट अर्को स्थानको यात्रामा रहँदा विदेशी भूमिको प्रयोग गर्न पर्ने बाध्यता हटेको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए । सदरमुकामदेखि घाँटीबगड हुँदै छाङरु जाने बाटो तीन वर्षदेखि अवरुद्ध भएपछि विदेशी भूमि प्रयोग गर्नुपर्ने त्यहाँका स्थानीयलाई बाध्यता थियो । उक्त बाध्यता अन्त्य गर्न गत जेठ २६ गते बाटो निर्माण सुरु गरेको सेनाले चार महिनाको प्रयासपछि विकट पहरा छिचोलेर स्वदेशी भूमिबाटै स्थानीयलाई यात्रा गराउन सफल भएको हो ।
प्रतिकूल मौसम, विकट इलाका र कठोर चट्टानलाई विस्फोटक पदार्थ प्रयोग गरी एक करोड ८ लाख ३६ हजारको लागतमा दुई मिटर चौडा र ५५० मिटर लामो उक्त बाटो निर्माण गरिएको सेनाले जनाएको छ । उक्त बाटोका लागि सेनानीको नेतृत्वमा ६५ सैनिक परिचालन गरिएको थियो भने ३३ जना गैरसैनिक नागरिक अहोरात्र खटिएका थिए ।
हस्तान्तरण कार्यक्रममा प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले जटिल परिस्थितिमा पनि सेनाले उत्कृष्ट काम गरेको बताए । उनले त्यस क्षेत्रको विकासमा सेनाबाट थप योगदान पुग्ने हुने विश्वास व्यक्त गरे । सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापाले बाटो निर्माणमा सेनालाई सहयोग पुर्याउने प्रदेश सरकार र स्थानीय तह सबैलाई धन्यवाद दिए । बाटो निर्माण गर्ने क्रममा स्थानीय देवानसिंह धामीको ढुंगा लागेर मृत्यु भएको थियो । बिमाबापतको १० लाख रुपैयाँको चेक र योगदानको उच्च मूल्यांकन गर्दै प्रधानसेनापति प्रशंसा निशान उनकी पत्नी लक्ष्मी धामीलाई प्रदान गरिएको थियो ।
बाटो सञ्चालनमा आएसँगै त्यस क्षेत्रका १८४ घरधुरीका १ हजार २५० जनालाई हिँड्न र पशु चौपाया ल्याउन पुर्याउन सहज भएको जनाइएको छ । उक्त मार्गको तम्पाकु खण्डमा सजिलोसँग आवतजावत गर्न केही कठिनाइ रहेकाले त्यसमा पनि सेनाबाट काम होस् भनी स्थानीयले अनुरोध गरेकामा महाकाली करिडोर (दार्चुला-तिंकर) निर्माणका क्रममा त्यस क्षेत्रलाई प्राथमिकता दिने सेनाले विश्वास दिलाएको छ । अतिविकट भौगोलिक अवस्थाका कारण हेलिकप्टर र साहसिक सैनिक परिचालनबाट मात्रै छोटै समयमा निर्माण सम्भव भएको सेनाले जनाएको छ । (रासस)
प्रकाशित समय ०८:५४ बजे

















