गृहपृष्ठ प्रदेश ५ को नाम लुम्बिनी र राजधानी भालुवाङ दुईतिहाइले पारित
प्रदेश ५ को नाम लुम्बिनी र राजधानी भालुवाङ दुईतिहाइले पारित
संघीयता कार्यान्वयनमा गएको यतिका समयपछि प्रदेश ५ ले बल्ल नाम र स्थायी राजधानी पाएकाे छ । प्रदेशसभामा मंगलबार भएकाे मतदान प्रक्रियाद्वारा प्रदेशकाे नाम लुम्बिनी र राजधानी दाङकाे भालुवाङ टुंगो लगाएकाे हाे । योसँगै प्रदेशसभामा केही दिनयता जारी रस्साकस्सी र चर्काचर्की सकिएकाे छ ।
फ्लोर क्रस गरेका प्रमुख प्रतिपक्षका केही सांसदले पनि मतदान गरेपछि भालुवाङ राजधानी बनाउने प्रस्तावको पक्षमा ६९ मत परेको छ । विपक्षमा १३ मत परेको छ । पार्टीको ह्वीपविपरीत कांग्रेसकै सांसदहरुले फ्लोर क्रस गरेपछि प्रदेशसभामा कांग्रेसका १९ सांसद भए पनि विपक्षमा १३ मत मात्र खसेको छ । अब प्रदेश ५ को राजधानी भालुवाङ र आसपासको क्षेत्र हुने भएको छ । यसअघि अस्थायी राजधानी बुटवल रहेको थियो ।
त्यसैगरी, प्रदेशसभाले प्रदेश ५ को नाम लुम्बिनी कायम गरेको छ । प्रदेशसभाको बैठकमा ७९ जना प्रदेशसभा सदस्यले लुम्बिनीको पक्षमा मतदान गरे । विपक्षमा जम्मा ४ मत मात्र परेको छ ।

प्रदेशसभामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६१ सांसद छन् । उनीहरुमध्ये सभामुख पूर्णबहादुर घर्तीले मतदान गरेनन् । यस्तै जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य छन् ।
राजधानी भालुवाङमा राख्ने प्रस्तावको विपक्षमा रहेका प्रमुख विपक्षी कांग्रेस सांसदहरूले सोमबार प्रदेशसभामा तोडफोड समेत गरेका थिए । कांग्रेसले राजधानीसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न हृवीप लगाएको थियो ।
प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएसँगै प्रदेशसभाको अधिवेशन अन्त्य भएको छ ।
प्रकाशित समय १७:३५ बजे

















