गृहपृष्ठ दसैंटीकाको साइत विश्वका कुन सहरमा कहिले ?
दसैंटीकाको साइत विश्वका कुन सहरमा कहिले ?
अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्ष विश्वका विभिन्न देशका सहरमा विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । समितिको बैठकले नेपालको काठमाडौँका लागि कात्तिक १० गते (अक्टोबर २६) बिहान १०:१९ बजेको साइत उत्तम रहेको जनाएको छ ।
यसैगरी भारतको दिल्लीमा बिहान १०:३५, अमेरिकाका न्युयोर्कमा अक्टोबर २५ (कात्तिक ९ गते) बिहान ११:०५, केन्टुकीमा बिहान ११:०७, टेक्सासमा बिहान ११:५७ र क्यालिफोर्नियामा ११:४५ बजेको साइत दिइएको समितिका अध्यक्ष प्राडा माधव भट्टराईले बताए ।
यसैगरी बेलायतको लण्डनका लागि बिहान ११:३९, क्यानडाको टोरन्टोका लागि बिहान ११:४३, पोर्चुगलको लिस्बनका लागि बिहान ११:३७ र फ्रान्सको पेरिसका लागि बिहान ११:४१ बजे विजयादशमीको टीका लगाउनु शुभ रहेको समितिले जनाएको छ । यी शहरमा पनि अक्टोबर २५ तारिखका दिन विजयादशमी पर्व मनाइन्छ ।
जापानको टोकियोमा अक्टोबर २६ तारिखका दिन बिहान ११:३५, अष्ट्रेलियाको सिड्नीमा बिहान ०९ः४३, अष्ट्रेलियाकै मेलबर्न शहरमा बिहान ९ः५३ बजे, अष्ट्रेलियाकै ब्रिसबेनमा बिहान ९ः५१, मलेसियाको क्वालालम्पुरमा बिहान १०ः३५, संयुक्त अरब इमिरेट्सको अबुधाबीमा बिहान १०ः४३, कतारको दोहामा बिहान १०ः२१, थाइल्याण्डको बैंककमा बिहान १०ः३३, दक्षिण कोरियाको सोलमा बिहान १०ः२७, इजरायलको तेल अभिभमा बिहान १०ः३७, सिंगापुरमा बिहान १०ः४१, हङकङमा बिहान १०ः४९, साउदी अरबमा बिहान १०ः२५, न्युजिल्याण्डको वेलिङ्टनमा बिहान १०ः१५ बजेको समयमा दसैंको टीका लगाउन उत्तम हुने जनाइएको छ । यी शहरमा पनि अक्टोबर २६ तारिखकै दिन विजयादशमी मनाउनुपर्ने समितिले जनाएको छ ।
विभिन्न देशमा फैलिएका नेपाली एवं वैदिक सनातन धर्मावलम्बीले दसैंको टीका लगाउन शुभसाइत माग्न थालेपछि समितिले ती देशका स्थानीय समयानुसार शुभ हुने बेलामा साइत दिइएको जनाएको छ । विश्व ज्योति महासंघले समिति गठन गरेको हो । नेपाल पञ्चांग निर्णायक समितिले यसअघि नै नेपालका लागि दसैंका विभिन्न साइत सार्वजनिक गरिसकेको छ ।
प्रकाशित समय २०:१४ बजे

















