गृहपृष्ठ ललितपुर र भक्तपुरमा भीडभाड हुने सरकारी कार्यालय बन्द

ललितपुर र भक्तपुरमा भीडभाड हुने सरकारी कार्यालय बन्द

कोरोना भाइरस संक्रमितहरूका संख्या लगातार बढ्न थालेपछि काठमाडौं उपत्यकाभित्रका दुई  जिल्ला प्रशासन कार्यालयहरू ललितपुर र भक्तपुरले जिल्लाभरिका अत्यावश्यक सेवाबाहेकका सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेका छन् । अत्यधिक संक्रमण फैलिएको काठमाडौं जिल्ला प्रशासनले भने कुनै निर्णय लिएको छैन ।

ललितपुर जिल्ला प्रशासनले शुक्रबार र भक्तपुर जिल्ला प्रशासनले शनिबार सार्वजनिक सूचना प्रकासित गरी ती दुई जिल्लामा रहेका सरकारी कार्यालयमध्ये आइतबारबाट अनिश्चितकालका लागि अत्यावश्यकबाहेक सबै कार्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-१९ सूचना पोर्टलअनुसार काठमाडौंमा देशकै सर्वाधिक उच्च संख्यामा यो भाइरस संक्रमितहरू छन् । शुक्रबार बेलुकासम्मका अद्यावधिक तथ्यांकअनुसार काठमाडौंमा ४१ हजार ८१४ जना संक्रमित भइसकेका छन् भने ललितपुरमा ५ हजार ९२९ जना र भक्तपुरमा ४ हजार २०० जना संक्रमित भएका छन् ।

कुल संक्रमितमध्ये काठमाडौंमा २० हजार २८८ जना निको भइसकेको, १६० जनाको मृत्यु भएको छ भने भक्तपुरमा २ हजार १०७ जना निको भएको ३० जनाको मृत्यु भएको र ललितपुरमा ५ हजार ८८३ जना निको भएको र ३९ जनाको मृत्यु भएको तथ्यांक छ ।

उपत्यकामा हरेक दिन औसतमा २ हजारदेखि २५०० सम्म संक्रमितहरू देखिन थालेपछि ती जिल्ला प्रशासन कार्यालयहरूले अत्यावश्यकबाहेकका सरकारी कार्यालय बन्द गर्ने निर्णय लिएका हुन् । यातायात, मालपोत, नापी, जिल्ला प्रशासनलगायतका कार्यालयमा बढी भीडभाड हुने र ती कार्यालयहरूमा सामाजिक दूरी कायम गर्न सम्भव नभएपछि दसैंका अवधिमा बन्द गरिएका हुन् ।

प्रकाशित समय १४:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु