गृहपृष्ठ प्रहरी हत्याका ७ अभियुक्त सार्वजनिक
प्रहरी हत्याका ७ अभियुक्त सार्वजनिक
स्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असइ) गोविन्द बिकले तस्करी रोक्न खोजेपछि उनको हत्या गरेको अभियुक्तहरुले स्वीकार गरेका छन् । तस्कर समूहले योजनावद्ध ढंगले असई र जवानलाई नियन्त्रणमा लिएर घरेलु हतियार लाठी र कोदालो (फरुवा) प्रहार गरेर हत्या गरेको खुलेको छ ।
गोरुगाडामा दाल (मटर) भारत तस्करी गरी लैजाँदै गर्दा धनगढी उपमहानगरपालिका– १२, जुगेडा प्रहरी चौकीका इन्चार्ज बिक र जवान रामबहादुर साउदले रोक्न खोजेपछि उनीहरु दुवैको हत्या आफूहरुले नै गरेको अभियक्तहरुले प्रहरीलाई प्रारम्भिक बयानको क्रममा बताएका छन् ।
सात जना अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । अन्य फरारको खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु धनगढी वडा नम्बर १० का ६ र वडा नम्बर ११ का एक जना रहेका छन् । पक्राउ परेका अभियुक्तहरुमा वडा नम्बर १० का ३१ वर्षीय पर्कु भनिने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, २२ वर्षीय राम निवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र वडा नम्बर ११ का गोपाल भनिने राम गोपाल राना रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतिक बिष्टले जानकारी दिए ।
बिकसँगै गस्तीमा खटिएका प्रहरी जवान साउदको पनि आज मोहना नदीमै शव भेटिएको हो । शनिबार राति करिब ८ बजेतिर असई बिक र जवान साउद मोटरसाइकलमा गस्तीमा निस्किएका थिए । केहीबेर पछि उनीहरु सम्पर्कबिहीन भएका थिए ।
मृतक परिवारका आफन्तले मृतकलाई सहिद घोषणा हुनुपर्ने माग राखेका छन् । सुरक्षामा खटिएका प्रहरी यसरी तस्करबाटै मारिदा शान्ति शुरक्षामा समेत चुनौती थपिएको छ । मृतक प्रहरीका परिवारलाई राहतका साथै छोराछोरीको पठनपाठनको समेत सरकारले ग्यारेन्टी लिनुपर्ने मृतक असइ बिकका भतिजा हरिको माग छ ।
प्रकाशित समय १८:१७ बजे

















