गृहपृष्ठ कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेपछि शव व्यवस्थापन चुनौती

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेपछि शव व्यवस्थापन चुनौती

मृतकको अन्तेष्ठि गरिँदै । (फाइल तस्बिर)

कोरोना संक्रमणबाट मृत्युदर बढ्दै गएपछि काभ्रेमा मृतकको शव व्यवस्थापनमा चुनौती देखिएको छ । जिल्लास्थित संकट व्यवस्थापन केन्द्रले स्थानीय तहमा शव व्यवस्थापनका लागि उचित स्थानको पहिचान गर्न अनुरोधसमेत गरेको छ ।

जिल्लामा बुधबारसम्म आठ पुरुष र सात महिला गरी १५ को कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । हालसम्म मृत्यु भएकाको सरकारद्वारा कोरोना संक्रमणबाट मृत्यु भएकाको शव अन्त्येष्टि गर्न प्रयोगमा ल्याइएको काठमाडौँको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा लैजाने गरिएको छ । उक्त गृहमा हाल चाप बढ्दै गएपछि कोरोना संक्रमणबाट काभ्रेमा मृत्यु भएकालाई वैकल्पिक व्यवस्थापनका लागि जिल्लास्थित १३ स्थानीय तहमा स्थानको खोजी गर्न थालिएको हो ।

संक्रमितको अस्पतालमा मात्र नभई होम आइसोलेसनमा समेत मृत्यु हुन थालेपछि केन्द्र तथा जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमान्ड पोष्टले वैकल्पिक शव व्यवस्थापनमा ध्यान दिएको हो । ‘केही दिनदेखि दैनिकजसो मृत्यु हुन थालेपछि स्थानीयस्तरमै शव व्यवस्थापनका लागि स्थानको खोजी थालिएको हो, स्थानीय तहका जनप्रतिनिधिले यस विषयलाई गम्भीरतापूर्वक लिनुभएको छ,’ केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भने । उनका अनुसार हाल दुई स्थानीय तहले आफ्नो क्षेत्रमा शव व्यवस्थापन गर्न सकिने प्रस्ताव गरेको छ ।

यसैबीच, काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका विद्यार्थीले कोरोना संक्रमणका कारण अस्पतालमा मृत्यु भएकाको शव व्यवस्थापन गर्न मानिसले छुनु नपर्ने ‘रोबो–भ्यान’ निर्माणमा जुटेका छन् । रिमोटबाट चल्ने यो भ्यानले मृत शरीरलाई अस्पतालको शय्याबाट शववाहनसम्म तथा व वाहनबाट घाटसम्म लैजान सहयोग गर्ने रोबो भ्यानका डिजाइनर अभिषेक कार्कीले बताए । कात्तिकभित्रै निर्माण सक्नेगरी खटेको टोलीका लागि नेपाल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी (नास्ट)ले आर्थिक सहयोग गरेको छ ।

काभ्रेमा बिहीबारसम्म ५२५ महिलासहित एक हजार ३७१ मा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये ६५ प्रतिशत अर्थात् ८८७ संक्रमणमुक्त भएको पोस्टले जनाएको छ । सक्रिय संक्रमितमध्ये ९३ अस्पताल र ३७७ होम आइसोलेसनमा उपचाररत छन् । गत असार २ गते काभ्रेमा पहिलो संक्रमण देखिएको थियो । (रासस)

प्रकाशित समय १३:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु