गृहपृष्ठ बोक्सीको आरोप लगाएर आफ्नै आमाको हत्या

बोक्सीको आरोप लगाएर आफ्नै आमाको हत्या

श्रीमतीलाई बोक्सी लगाएको भन्दै सिरहामा ९० वर्षीय आमालाई आफ्नै छोराले हत्या गरेका छन् । सिरहाको कर्जन्हा नगरपालिका ३ बस्ने ९० वर्षीया सुदामादेवी साहको शनिबार साँझ ५ बजे उपचारको क्रममा मृत्यु भएको हो । छोराको पिटाइबाट घाइते भएकी उनको सिरहा अस्पतालमा साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी सन्तुलाल जयसवालले जानकारी दिए ।

गएको बुधबार कान्छो छोरा रामऔतार साहले गाउँलेकै अगाडि बोक्सीको आरोप लगाउँदै आमा सुदामादेवीलाई मरासन्न हुने गरी कुटपिट गर्दै दिसा खुवाउने प्रयास गरेका थिए । प्रहरी घटनास्थल पुगेपछि आमालाई मलमुत्र खुवाउने उनको प्रयास असफल भएको थियो ।

छोराको कुटाइबाट गम्भीर घाइते भएकी सुदामादेवीलाई सोही दिन जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । दुई दिनको उपचारपश्चात घर फर्केकी सुदामालाई शनिबार दिउँसो स्वास्थ्यमा फेरि समस्या देखिएपछि उपचारका लागि सिरहा अस्पताल भर्ना गरिएको थियो ।

साँझ ५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । छोराले लामो समय घाँटी थिचेका कारण गर्धनमा गम्भीर समस्या भई उनको मृत्यु भएको चिकित्सकले बताएका छन् । घटनापश्चात फरार भएका रामऔतारलाई शुक्रबार दिउँसो सिरहा प्रहरीले पक्राउ गरेको छ । स्थानीयका अनुसार श्रीमती मनिषा साहको खुट्टामा घाउ भएपछि रामऔतारले आमालाई बोक्सी भन्दै कुटपिट गरी मलमूत्र खुवाउने प्रयास गरेका थिए ।

प्रकाशित समय १०:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु